प्रधानमन्त्रीले सर्वोच्चको समस्या समाधान गर्न पहल गर्नुपर्छ : माधव नेपाल

धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ ।

आज धनगढीमा समाजवादी पार्टीको सुदूरपश्चिम प्रदेशको कार्यालय उद्घाटनपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले अदालतमा देखिएको समस्या छिट्टै समाधान हुनुपर्नेमा गठबन्धनको मत एक रहेको बताउनुभयो ।

पार्टी कार्यालय उद्घाटनका क्रममा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सुदूरपश्चिमबाट फहराएको एकीकृत समाजवादीको झण्डा मेचीसम्म पुग्ने दावि गर्नुभएको छ ।

नेकपा एमाले पनि आफूले कञ्चनपुरमा स्थापना गरेको भन्दै उहाँले समाजवादीको कार्यालय स्थापनाको क्रम समेत सुदूरपश्चिमबाटै शुरु भएको बताउनुभयो ।

उहाँ अहिले प्रदेश पार्टी कार्यालय भाडाको घरमा सञ्चालन भएपनि चाडै आफ्नै जग्गा खरिद गरेर भवन निर्माण हुने बताउनुभयो । अध्यक्ष नेपाल हिजो सुदूरपश्चिम आइपुग्नुभएको हो ।

Back to top button