रेडक्रसमा तालावन्दी गरेर निवर्तमान सभापति कांग्रेसको चुनाव प्रचारमा

विराटनगर । नेपाल रेडक्रस मोरङ शाखामा नयाँ तदर्थ समितिले काम गर्न थालेपछि पुरानो समितिले तालावन्दी गरेको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रको कात्तिक २३ को बैठकले निर्णय गरी मोरङ शाखामा तारानाथ भट्टराईको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेको थियो ।

नयाँ समितिले कात्तिक २६ गतेदेखि काम सुरु गरेको छ । सोही क्रममा शाखाका निवर्तमान सभापति सुवोधकुमार सिंहले विराटनगर शनिहाटस्थित रेडक्रस कार्यालयमा सोमबार दिउँसो मुल चेनगेटमा नै तालावन्दी गरेर कांग्रेसको चुनाव प्रचारमा हिड्नुभएको छ ।

यही मंसिर १० र ११ गते हुने नेपाली कांग्रेस मोरङको जिल्ला अधिवेशनमा संस्थापन गुटबाट उपसभापतिको उम्मेदवारी घोषणा गर्नुभएका सिंहले रेडक्रसमा ताला लगाउँदा दैनिक प्रशासनिक कार्य गर्न समस्या भएको रेडक्रस मोरङका मन्त्री श्याम पौडेलले बताउनुभयो ।

अहिले कर्मचारी विहान १० बजे कार्यालय आएर केही क्षण बसेर घर फर्कने गरेको रेडक्रस मोरङ शाखाका वरिष्ठ अधिकृत कुमार निरौलाले बताउनुभयो । हिजोे दिउँसो रेडक्रस कार्यालयमा पुग्दा कर्मचारी कोही पनि नभेटिएको सभापति भट्टराईले बताउनुभयो ।

सिंह सभापति रहेको रेडक्रस मोरङको समितिको कार्यकाल २०७७ कात्तिकमा नै सकिएको र त्यसपछि केन्द्रको पत्रको आधारमा काम चलाउरुपमा कात्तिकसम्म काम गर्दै आएको थियो ।

निर्धारित समयमा चुनाव नगरेको र एक वर्ष म्याद थप गर्दा पनि निर्वाचन प्रक्रियामा जान नसकेपछि रेडक्रस केन्द्रले मोरङ शाखाका लागि तारानाथ भट्टराईको नेतृत्वमा तदर्थ समिति तोकेको हो ।

आफ्नो कार्यकालमा भए गरेका अनियमितता उजागर हुने भयले निवर्तमान सभापति सिंहले तदर्थ समितिलाई काममा बाधा पु¥याएको रेडक्रस सरोकार समितिका सहसञ्योजक सुरबहादुर श्रेष्ठको बताउनुभयो ।

Back to top button