थप ६० लाख डोज फाइजर खोप ल्याईदै : स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अमेरिकाबाट थप ६० लाख डोज फाइजर खोप ल्याइने बताउनुभएको छ । आज अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु र मन्त्री खतिवडा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको फाइजर खोप केन्द्र अवलोकनका क्रममा मन्त्री खतिवडाले यस्तो जानकारी दिनुभएको हो ।

स्वास्थ्यमन्त्री खतिवडाले खोप केन्द्र अवलोकनपछि कोरोनाविरुद्धको फाइजर बायोएनटेक खोप ६० लाख मात्रा नेपाल ल्याउन सम्झौता गरिसकेको बताउनुभयो । उहाँले फाइजरको खोप ल्याउन भुक्तानीका लगि सरकारबाट निर्णय भइसकेको पनि बताउनुभयो । मन्त्री खतिवडाले अबको एक महिनाभित्र नेपालको हरेक भागमा खोपको शुरुवात गर्ने बताउनुभयो ।

उहाँले अहिले खोपको अभाव कतै नभएको बताउँदै २४ घण्टा नै काठमाडौं उपत्यकाका ५ अस्पतालमा खोप लगाइने बताउनुभयो । मन्त्री खतिवडाले सरकारले कर्मचारीलाई दिने भनेको जोखिम भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘अमेरिकी सहायक विदेशमन्त्रीसँगै बसेर गर्न पाएकोमा खुशी छौँ, आउँदो दिनमा पनि कोभिडविरुद्धको लडाइँ, अमेरिका र नेपाल एकसाथ रहेर अघि बढ्नेछौँ र मित्रता र सहयोग निरन्तरता भइरहनेछ, अब हामीले थप फाइजर खोप ६० लाख सम्झौता गरिसक्यौँ, भुक्तानी गर्न क्याबिनेटबाट निर्णय गरिसकेका छौँ, उहाँहरूको भनाइअनुसार हामी एक महिनाभित्रमा पहिलो लट आउँछ र त्यो प्रदेश, प्रदेशबाट जिल्लामा जान्छ, जिल्लाबाट वडा, एक महिनापछि नेपालको हरेक भागमा खोप शुरुवात गरिसकेका हुन्छौँ ।

सहायकमन्त्री लुले फाइजर खोप बालबालिकाका लागि सुरक्षित रहेकाले ढुक्क भएर लगाउन आह्वान गर्नुभएको छ । सहायक मन्त्री लूले भन्नुभयो, ‘अमेरिकाले कोरोनाबिरुद्धको भ्याक्सिन नेपालीहरुलाई सहयोग गर्न पाएकोमा हामीलाई खुशी लागेको छ, फाइजर भ्याक्सिनले दीर्घरोगीहरुलाई कोरोनाबाट सुरक्षित राख्छ, डाक्टर, नर्स र हेल्थ वर्कर्सहरुले नै हाम्रो जीवन सुरक्षित राख्ने हो, उहाँहरु रियल हिरो हो, बालबालिकाहरुका लागि यो खोप एकदमै सुरक्षित छ, ढुक्क भएर लगाउन अनुरोध गर्दछु।’

Back to top button