बजेट पुनरावलोकन गर्छौ मन्त्री :आङ्बो

विराटनगर। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले चालू आर्थिक वर्षको बजेट पुनरावलोकन हुने जनाउनु भएको छ ।

आज मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर मन्त्री आङ्बोले अनुत्पादक क्षेत्रको बजेट कटौती गर्ने बताउनु भएको हो । प्राथमिकताका आधारमा नयाँ योजना समावेश गरेर चालू आर्थिक वर्षको बजेट कार्यान्वयनमा लगिने उहाँले बताउनु भयो ।

पूर्व मुख्यमन्त्री शेरधन राईले गरेका महत्त्वपूर्ण योजनालाई निरन्तरता दिने उहाँको भनाइ रहेको छ । मुख्यमन्त्री राईको नेतृत्वमा सरकारमा आङ्बो आर्थिक मामिला तथा योजना मन्त्रीनै रहनु भएको थियो । नेकपा बिबाद चुलिदै गएपछि मुख्यमन्त्री राइले उहाँलाई बर्खास्त गर्नु भएको थियो ।

निवर्तमान मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार असंवैधानिक रहेको भन्दै उहाको नेतृत्वका योजनालाई निरन्तरता दिन नसक्ने उहाँले बताउनु भयो । व्यक्तिगत स्वार्थ, कार्यकर्ता केन्द्रित, चुनाव केन्द्रित बजेटलाई हटाएर मंसिरभित्र नै पुनरावलोकन गरिसक्ने समेत उहाँले बताउनु भयो ।

Back to top button