जनताको ढाड सेक्ने गरी वृद्धि गरिएको पेट्रोलियम पदार्थको मूल्य फिर्ता लिन एमाले प्रदेश कमिटीको माग

विराटनगर । नेकपा एमाले प्रदेश १ ले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि अविलम्ब फिर्ता लिन माग गरेको छ ।जनताको ढाड सेक्ने गरिमूल्य वृद्धि गरीएको भन्दै फिर्ता लिन माग गरेको हो ।

विराटनगरमा आज सम्पन्न नेकपा एमाले१ नं प्रदेश कमिटीको पूर्ण बैठकले मूल्य वृद्धि फिर्ता लिनसरकार सँग माग गर्ने निर्णय गरेको हो । बैठकले व्यक्तिको आम्दानीको स्रोत देखाउनु नपर्ने, उद्योग सञ्चालनलगायतका क्षेत्रमा लगानी देखाउनु नपर्नेजस्ता आर्थिक अपचलनका कामहरुलाई समेत अविलम्ब फिर्ता लिन माग गरेको छ ।

बैठकले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्दै जनताको बहुदलीय जनवादको प्रकाशमा नेपाल समाजमा यसको मौलिक प्रकृतिको समाजवादको आधारशीला निर्माण गर्ने दृढ संकल्प अघि सारेको नेता राजेन्द्र गौतमले जारी गरेको प्रेस नोटमा उल्लेख गरीएको छ ।

बैठकलाई संविधानसभा अध्यक्ष एवं पार्टी स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, १ नं. प्रदेश इञ्चार्ज भीम आचार्य र केन्द्रीय सदस्य भानुभक्त ढकाल लगायतले सम्बोधन गर्नु भएको थियो ।
पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन २०७८ मंसिर १०÷१२, चितवनको विषयगत व्यवस्थापनको आन्तरिक तयारीसम्बन्धी उल्लेख्य निर्णय लिएको यो बैठकले प्रदेश कमिटीको तर्फबाट भूगोल, मजदूर, महिला, दलित आदि समुदायको निश्चित संख्यामा प्रतिनिधि छनौट गरेको छ । एमालेको महाधिवेशन व्यवस्थापनसम्बन्धी पार्टीको प्रदेश कमिटी एउटा निर्वाचन क्षेत्र रहने व्यवस्था रहेको छ ।

प्रदेश कमिटीको बैठकमा केन्द्रीय सदस्यहरु गुरु बराल, जीवन घिमिरे, शेरधन राई, हिक्मत कार्की, देवेन्द्र दाहाल, विशाल भट्टराई, भगवती चौधरीलगायत दर्जनौं नेताहरुको उपस्थिति रहेको थियो ।

 

Back to top button