रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

रोल्पा । रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दाङको घोराहीबाट रोल्पाको थवाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको बस आज बेलुकी दुर्घटनामा परेको हो।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएको प्रहरीले जनाएको छ। बस शहितमार्ग अन्तर्गत माडी गाउँपालिका–२ जलजलामा दुर्घटनामा परेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिनुभयो।

दुर्घटनामा  ३ जना पुरुष र १ जना महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते भएकाहरुलाई घर्तीगाउँमा रहेको सुनिल स्मृति अस्पतालमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

बसमा सवार १० जना रहेको प्रहरीले अनुमान गरेको छ। बस सडकदेखि करिब एक सय फिट तल खसेको थियो ।

Back to top button