
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंसिर १४ गते प्रदेशसभाबाट विश्वासको मत लिने हुनुभएको छ ।
संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि संविधानको १८३ को उपधारा १ बमोजिम कर्णाली प्रदेशसभाको अधिवेशन बोलाइएको हो।
कर्णालीमा जीवनबहादुर शाही नेतृत्वको सरकार गठन भएको आज १७ दिन पुगेको छ। तर, अहिलेसम्म मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तारलाई पूर्णता दिन सकिरहनुभएको छैन ।
सत्तारूढ गठबन्धनमा रहेका प्रमुख तीन दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच मन्त्री छनोट र मन्त्रालय भागबण्डाको विषयमा अझै टुंगो लाग्न सकिरहेको छैन।