सहिद स्मारक ए डिभिजन लिग आज देखि सुरु हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग आज देखि सुरु हुँदैछ। दशरथ रंगशालामा अपराह्न ४ः३० बजे सुरु हुने उद्घाटन खेलमा सातदोबाटो र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। सातदोबाटो ए डिभिजन लिगको नवप्रवेशी हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा दुबै टोलीले उत्कृष्ठ नजिता ल्याउने तयारी गरेका छन् । लिग अन्तर्गत भोलि शनिबारदेखि हरेक दिन दुई खेल हुनेछ । कुल ९१ खेल हुने लिगमा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

लिग अघि बिहीबार दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा क्लवका प्रशिक्षक तथा कप्तानहरुले उत्कृष्ठ खेल खेल्ने र राम्रै नजिता निकाल्ने दाबी गर्नुभएको हो । यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छन् ।

यस पटकको लिग विजेताले ७५ लाख, उपविजेताले ५० लाख र तेस्रो हुनेले २५ लाख पुरस्कार पाउने छ । हरेक खेलको विजेताले ५० हजार पाउने छन् । खेल बराबरीमा सकिए दुबै टोलीले २५–२५ हजार पाउने एन्फाले जनाएको छ । अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको हो ।

आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले दशरथ रंगशालाको सिट क्षमताअनुसार दर्शकलाई प्रवेश दिइने र दर्शकलाई कोरोनाविरुद्धको खोप पनि आवश्यक नपर्ने जनाएको छ।

Back to top button