
रौतहट । रौतहटको कटहरियामा गाडीको टायरमा हावा भर्ने ट्यांकी विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
कटहरीया नगरपालिका–५ मा बहादुरपुर टोल रहेको मोटर ग्यारेजमा टायरमा हावा भर्ने ट्यांकी विष्फोट हुँदा स्थानीय समसुल मियाँको मृत्यु भएको हो ।
टाउकोमा गम्भीर चोट लागेका ग्यारेज सञ्चालक मियाँको उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
ट्यांकीमा हावा भर्ने क्रममा क्षमता भन्दा बढी हावा भरिएपछि विष्फोट भएको हुनसक्ने प्रहरीको अनुमान छ । विष्फोटमा परी स्थानीय जैसी यादव घाइते हुनुभएको छ ।
ट्याकी विष्फोट हुँदा फलामको टुक्रा उछिट्टिएर यादवको दाहिने हातमा चोट लागेको हो । घटनाका बिषयमा आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।