मोरङमा कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशनको प्रकृया शुरु

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङमा प्रदेशसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया सुरु भएको छ ।

जिल्ला निर्वाचन सहायक अधिकृत गणेश भुजेलका अनुसार मोरङका ६ क्षेत्र अन्तर्गत १२ स्थानका लागि मनोनयन प्रक्रियाबारे विवरण आउने क्रम जारी रहेको छ । यद्यपी विराटनगर महानगरपालिका क्षेत्रमा पर्ने मोरङ क्षेत्र नम्बर ६ को ख मा ३ जनाको निर्विरोधसहित ५४ जनाको उम्मेदवारी परेको उहाँले जानकारी दिनुभयो ।

भुजेलले उक्त निर्वाचन क्षेत्रमा आदिबासी जनजातीतर्फ पन्नालाल राजवंशी, मधेशीतर्फ १८ वर्षीया रक्षा यादव र दलिततर्फ मिरा पासवान निर्विरोध भएको बताउनुभयो । यसैगरि मोरङ क्षेत्र नम्बर ४ को क मा हालसम्म ७० जनाले उम्मेदवारी दर्ता गराएको उहाँले बताउनुभयो ।

यसबीच उम्मेद्वारी फिर्ता लिएकाहरुको विवरण संकलन कार्य भइरहेको छ । उम्मेद्वारी दर्ता पूर्व विराटनगर १ की निर्मला कोइरालाले मनोनयन दर्ता नगराएको जानकरी दिनुभएको छ। स्थानीय जनता विद्यालयकी शिक्षिका कोइरालाले स्वास्थ्य अवस्थाका कारण आफू पछि हटेको प्रष्ट्याउनुभएको छ ।

मोरङको ६ वटै निर्वाचनमा गरि कुल ३ हजार ५ सय ५१ प्रतिनिधि रहेका छन् । जस अन्तर्गत क्षेत्र नम्बर १ मा कुल ६ सय ५९ मत रहेको छ । जसमा क तर्फ २ सय ३ र ख मा ३ सय ७६ प्रतिनीधि रहेका छन् । क्षेत्र नम्बर २ को क मा २ सय ९ र ख मा ३ सय ४ गरि कुल ६ सय ८२ प्रतिनिधि छन् ।

क्षेत्र ३ मा २ सय ९ जना क र २ सय ६० ख तर्फ गरि कुल ५ सय २ प्रतिनिधि रहेको जिल्ला निर्वाचन समितिले जनाएको छ । क्षेत्र नम्बर ४ मा जिल्लाकै सर्वाधिक प्रतिनिधि छन् । ४ को क तर्फ ३ सय ५२ र ख तर्फ ३ सय ३ गरि कुल ६ सय ९० प्रतिनिधि छन् ।

यस्तै क्षेत्र नम्बर ५ को क मा २ सय ४६ र ख मा १ सय ९७ गरि कुल ४ सय ४३ जना प्रतिनिधि छन् भने क्षेत्र नम्बर ६ मा कुल ५ सय ५८ प्रतिनिधि छन् । ६ क्षेत्रको क तर्फ ३ सय ४ र ख तर्फ २ सय ५४ जना रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रदेशसभा क्षेत्रीय अधिवेशनले कम्तीमा ३ महिलासहित १० जना प्रत्यक्ष र महिला, दलित, आदिबासी, जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट ६ जना, प्रदेशसभा क्षेत्रको जनसंख्या अनुसार तोकिए बमोजिम समानुपातिक आधारमा गरि कुल १६ जना प्रतिनिधि निर्वाचित गर्नेछ ।

Back to top button