
बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशनको मतगणनाका क्रममा रूपन्देहीमा दुई पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।
प्रदेश नम्बर ३ (क) को मतगणनास्थल सिद्धार्थनगर नगरपालिका भैरहवामा गएराति मतगणनास्थलमा दुई पक्षका कांग्रेस कार्यकर्ताबीच झडप भएको हो ।
मतपरिणाम आउने क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पुरण श्रेष्ठले अग्रता लिएपछि युवाको समूहले अचानक आक्रमण गरेको थियो। आक्रमणमा पौडेल पक्षका क्षेत्रीय सचिवका उम्मेदवार शैलेश पन्त गम्भीर हुनुभएको छ ।
घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको पुरण श्रेष्ठले जानकारी दिनुभएको छ । चुनाव हार्ने निश्चित भएपछि एक समूह मतगणनास्थलमा प्रवेश गरी जेनेरेटर बन्द गराएर आक्रमण सुरु गरेको उहाँले बताउनुभयो ।
आक्रमणपछि मतगणना स्थगित भएको छ। रूपन्देहीका सबै प्रदेश निर्वाचन क्षेत्रको निर्वाचनमा सभापति शेरबहादुर देउवा र पौडेल पक्ष प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्।