
विराटनगर । जिल्ला कारागार मोरङमा पुनः एक कैदिबन्दीको मृत्यु भएको छ । जवरजस्ति करणीमा ७ बर्ष देखी कारागारमा कैद भुक्तान गरिरहेका मोरङको विराटनगर–१० का ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको हो ।
उपचारकै क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको कारागारका निमित्त जेलर रामप्रसाद पोख्रेलले बताउनुभयो । रक्तचाप कमजोर (प्रेसर लो) भएका कारण उहाँको मृत्यु भएको चिकित्सकले बताएको पोखरेलले बताउनुभयो ।
‘राति एक्कासि विरामी भएपछि शर्मालाई उपचारकालागि कोशी अस्पताल लगेका थियौ’,पोख्रेलले भन्नुभयो, ‘उपचारमा सम्लग्न चिकित्सकले लैजान सल्लाहा दिएपछि फर्काएर ल्याएका थियौ तर पुन विरामी भएपछि अस्पतालमा बिहान ७ : ३० बजे मृत्यु भयो ।’
यता परिवारले भने कारागार प्रशासनले उपचारमा ढिलाई गरिदिँदा मृत्यु भएको आरोप लगाएको छ । कैदिबन्दीहरुले समेत शर्माको उपचारमा ढिलाई हुदाँ मृत्यु भएको बताएका छन् ।
एक कैदिबन्दीले भने शर्माको अवस्था यहाँ नै चिन्ताजनक थियो तर प्रशासनले एम्बुलेन्स बोलाएको छ भन्दै करिब एक घन्टा खुल्ला चौरमा राख्दा उपचारमा ढिलाई भएको बताए ।
ति कैदिबन्दीका अनुसार कैदिबन्दीलेनै परिवारलाई खबर गरेपछि मात्रै अस्पताल लगिएको आरोप लगाएका छन् । कारागार प्रशासनले भने एम्बुलेन्स आउन ढिलाइ भएको बताएको छ ।
८ बर्ष ६ महिना कैद सजाय सुनाइएका शर्मा २०७१ सालदेखि जवरजस्ती करणीको मुद्धाको कैद भुक्तान गरीरहेको कारागार प्रशासनले जानकारी दिएको छ ।
केहि दिन अघि पनि कारागार भित्र नै जवरजस्ती करणीमा ६ बर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङको रतुवामाई नगरपालिका–१० साविक इटहरा–८ का ४३ वर्षीय नारायण थापाको मृत्यु भएको थियो ।
थापाका परिवारले हत्या भएको आरोप लगाएका थिए । अभिषेक गिरीलाई विराटनगर कारागारमा ल्याउने भनेपछि विराटनगर कारागार अशान्त बन्दै आएको छ ।
अपहरण तथा शरीर बन्धक मुद्दामा जेल सजाय काटिरहेका गिरीलाई तेस्रो पटक मोरङ कारागार पठाउने निर्णय भएको छ । मोरङ कारगारमा केहि दिन अघि पनि सरूवा भएपछि कैदीबन्दीको आन्दोलनको कारण सप्तरी पठाइएको थियो ।
सप्तरीबाट फेरी पनि मोरङनै पठाउने भन्ने पत्र प्राप्त भएको निमित्त जेलर पोखरेलले बताउनुभयो । गत कात्तिक १६ गते गिरीलाई डिल्लीबजार कारागारबाट मोरङ पठाइएको थियो ।
कैदीबन्दीले आन्दोलन गर्दै प्रवेश नदिएपछि गिरीलाई सप्तरी कारागार पठाइएको थियो । कारागार व्यवस्थापन विभागले हिजो गिरीलाई मोरङ नै फर्काउने निर्णय गरेको छ ।