१० दल बनेर आए पनि एमालेलाई कुनै फरक पर्दैन :ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याउन पाँचदलीय गठबन्धन बनेको बताउनु भएको छ । आज काठमाडौंको वसन्तपुरमा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले एमाले सिध्याउन पाँचदलीय गठबन्धन बनेको भन्दै अरू १० दल आए पनि कुनै फरक नपर्ने बताउनु भएको छ ।

एमालेलाई कसैको वैशाखी टेकेर हिँड्नुपर्ने अवस्था नरहेको भन्दै आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने समेतथ उहाँको दावि रहेको छ । आगामी निर्वाचनमा सत्ता गठबन्धनका केही दल नेपाली कांग्रेसको औँला नसमाती हिँड्नै नसक्ने तर्क पनि उहाँले गर्नु भयो ।

आफ्नो सरकार ढालेर कांग्रेसको औँला समातेर हिँड्नेहरूले चुनावसम्म गठबन्धन रहने कुरा गरिरहेको उहाँको भनाइ रहेको छ ।

एमाले नेतृत्वको सरकारले मुलुकमा विकासको लहर ल्याएकै कारण सरकारबाट हटाइएको जिकिर उहाँले गर्नु भयो । अहिले विकासको गति अवरुद्ध भएको भन्दै विकास निर्माणको कार्य अगाडि बढाउन एमालेकै नेतृत्वमा सरकार बन्नुपर्नेमा उहाँले जोड दिनु भयो।

Back to top button