गणतन्त्र दिवसमा देउवालाई पनि निम्तो गर्ने भारतले गर्यो तयारी

काठमाडौं । भारतले आगामी वर्ष दिल्लीमा आयोजना हुने गणतन्त्र दिवस समारोहमा बिमस्टेक सदस्य मुलुकका सरकार प्रमुखलाई निम्तो गर्ने भएको छ ।

जनवरी २६ मा हुने समारोहमा नेपालसहितका बिमस्टेक सदस्यलाई निम्तो दिने तयारी भएको इन्डियन एक्सप्रेसले जनाएको छ । यसबारे परराष्ट्र मन्त्रालयले भने औपचारिक प्रतिक्रिया दिएको छैन । बिमस्टेकमा भारत र नेपालबाहेक बंगलादेश, म्यानमार, श्रीलंका, थाइल्यान्ड र भुटान सदस्य छन् ।

सन् २०१९ को मे महिनामा आयोजना गरिएको प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण समारोहमा बिमस्टेक मुलुकका सरकार प्रमुखलाई पनि निम्तो दिइएको थियो ।

विवरणअनुसार भारतीय विदेश मन्त्रालयले यसका लागि नेपाली अधिकारीहरुसँग निरन्तर सम्पर्क स्थापित गरिरहेको छ । भारतले निम्तो पठाउने तयारी गरिरहेको र निम्तो सुनिश्चित हुने वित्तिकै गणतन्त्र दिवसको समारोहका अतिथिको नाम सार्वजनिक हुने भएको छ ।

स्कटल्यान्डमा गतमहिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षीलाई भ्रमणको निम्तो दिनुभएको थियो,भने मोदी पनि नेपाल भ्रमणमा आउने जनाइएको थियो । मोदीको सोही निम्तोका अनुसार नै देउवा गणतन्त्र दिवस समारोहमा भाग लिन दिल्ली जाने सम्भावना रहेको परराष्ट्र स्रोतहरु बताउँछन् ।

नेपाली प्रधानमन्त्री शेरबहादुर देउवा, बंगलादेशी प्रधानमन्त्री हसिना सेख, श्रीलंकाली प्रधानमन्त्री महिन्दा राजापाक्षे अथवा राष्ट्रपति गोताव्य राजापाक्षे, भुटानी प्रधानमन्त्री लोते छिरिङ, थाइ प्रधानमन्त्री चान ओ चा, म्यानमारको राज्य प्रशासन प्रमुख मिन आङ पनि सहभागी हुने अपेक्षा भारतले गरेको छ ।

कोभिड१९ को जोखिम कायमै भएकाले अन्तिम समयमा भर्चुअल समारोह पनि हुनसक्ने स्रोतले जनाएको छ ।

Back to top button