निर्वाचन समिति देउवाको निर्देशनमा चल्यो : शेखर कोइराला

इन्द्र शर्मा,

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १४ औं महाधिवेशनका लागि बनाइएको निर्वाचन समिति माथि प्रश्न उठाउनुभएको छ ।

आज विराटनगर स्थित कोइराला निवासमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले निर्वाचन समिति निष्पक्ष नभएको समेत आरोप लगाउनुभएको छ ।

‘अहिलेको महाधिवेशनमा जतिसुकै निष्पक्ष धाँधलीरहित भनेर सभापति जी ले भने पनि त्यसको विपरीत भइरहेको छ’,उहाँले भन्नुभयो,‘ धाँधलीरहित छैन भन्ने पुष्टि समेत भइसकेको छ ।’

सभापतिले जे भन्नु भयो निर्वाचन समितिले त्यही गरिरहेको उहाँको आरोप रहेको छ । त्यसको उदाहरण डडेलधुरा रहेको उहाँले बताउनुभयो । ३ जना निर्वाचन अधिकृत परिवर्तन गरेर अधिवेशन गरिएको भन्दै उहाँले कटाक्ष गर्नुभयो ।

सभापति तथा गृहमन्त्रीको जिल्लामा कुटपिट नै गरेर चुनाव गराइएको भन्दै उहाँले जहाँ जसले जितेपनि कांग्रेसले नै जित्छ भन्ने सोच्न नसक्दा समस्या भएको आरोप लगाउनुभयो ।

‘प्रहरी प्रशासनलाई गुन्डागर्दी गराएर कायकर्तामा कस्तो सन्देश दिन खोज्नु भएको हो मैले बुझ्न सकेको छैन’, कोइरालाले भन्नुभयो ‘गलत मानसिकता बाट अगाडि बढेकै कारण तोकिएकै समयमा महाधिवेशन नभएको हो ।’

अहिलेसम्म सकिएका अधिवेशनमा युवाहरू बढि नै देखिएको भन्दै उहाँले युवाले गुटलाई हेरेर भोट नदिनेमा आफू ढुक्क रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले आफ्नो पक्षमा माहौल बनाउनकै लागि निर्वाचनको मिति सार्दै आएको भन्दै अब कुनै पनि बहानामा महाधिवेशनको मिति नसर्ने उहाँले बताउनुभयो ।

उहाँले कार्यकर्तालाई सहमतिका माध्यमबाट नेतृत्व टुङ्गयाउन निर्देशन दिनुभयो । महाधिवेशनमा भने सहमतिमा हुने सम्भावना नरहेको उहाँले बताउनुभयो ।

देउवाजीको गुट वाट बिमलेन्द्र निधि जी र देउवा जी भिड्दै हुनहुन्छ उहाँले भन्नुभयो,‘ अब हाम्रो पनि एक्लै भन्ने छैन । जो–जो उठे पनि म सभापतिको रिङ मै छु ।’

सर्वोच्चको विवादका विषयमा उहाँले प्रधानन्यायाधीशले निकास दिनु पर्ने बताउनुभएको छ। जनता सडकमा छैनन् उहाँकै सहपाठीहरू आन्दोलनमा रहेकोले न्यायालयको विषयमा राज्य बोल्नु पर्ने उहाँले तर्क गर्नुभयो । न्यायालय विषयमा सरकार मात्रै नभई राज्यले नै निकास दिनुपर्ने बेला आएको उहाँले बताउनुभयो ।

Back to top button