बेटी पढाउ, बेटी बचाउ अभियानको राष्ट्रपतिद्धारा प्रशंशा

महोत्तरी । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ सरकारको ‘बेटी पढाउ, बेटी बचाउप’ कार्यक्रमको उच्‍च प्रशंशा गर्नुभएको छ ।

महोत्तरीको सदरमुकाम जलेश्वर स्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरमा पूजाअर्चनाका लागि आउनुभएकी राष्ट्रपति भण्डारीले यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्ता अभियानलाई अन्य प्रदेशहरुमा पनि लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

महोत्तरीको मटिहानी नगरपालिकामा नवनिर्मित रङ्गशालाको समुद्घाटन गर्दै उहाँले जनक नन्दिनी सीताको जन्मस्थलीमा जातीय भेदभाव, महिला उत्पीडन, अन्धविश्वास, अशिक्षाले सिर्जित गरिबीको समस्या हुनु चुनौती र दुःखको विषय भएको बताउनुभयो ।

प्राचीन ऋषिहरुको ज्ञान, विवेचना र मीमांसाको यो थलोमा अझै पनि बालविवाह, अनमेल विवाह, दहेज र तिलक प्रथा तथा बोक्सीप्रथाजस्ता विकृति विसंगति हुनु दुःखको विषय भएको बताउनुभयो ।

तीनसय वर्षभन्दा पुरानो संस्कृत विद्यालयले हाम्रो देशमा शिक्षाको ज्योती छर्न महत्वपूर्ण योगदान गरेको बताउँदै राष्ट्रपति भण्डारीले शैक्षिक जागरणका अग्रदूत बालागुरु षडानन्दले समेत अध्ययन गरेको यहाँको शैक्षिक केन्द्रको संरक्षण तथा सम्बर्धन गर्नु सबैको दायित्व रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश २ का प्रदेश प्रमुख मोहम्मद लालबाबु राउतले संघीय सरकारको असहयोगले प्रदेश सरकारले जुन गति लिनुपर्ने हो त्यो लिन नसक्दा मानव सूचकाङ्कमा कर्णालीभन्दा पछि परेको बताउनुभयो ।

यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले बाबा जलेश्वरनाथ महादेव मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । राष्ट्रपति भण्डारी पूजाअर्चना र दर्शनका लागि आउने भएपछि नेपाली सेनाले गुफाबाट पानी बाहिर निकालेको र त्यसपछि राष्ट्रपति भण्डारी गुफागृहमै प्रवेश गरेर पूजाअर्चना गर्नुभएको थियो ।

जलेश्वरनाथ महादेवको मूल गुफा जमिनको सतहदेखि १६ सिंढीमुनि जमिनभित्र रहेको छ । यहाँ चौबिसै घण्टा जल भरिएको हुन्छ र बाबा जलेश्वरनाथ महादेव वर्षभरि नै जलमै विराजमान रहने विश्वास गरिन्छ।

राष्ट्रपति भण्डारीले मन्दिरका मूल पूजारी उपेन्द्र पाठकका हातबाट टीका तथा प्रसाद ग्रहण गर्नुभयो भने उहाँलाई जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्र, मन्दिरका मूल पुजारी र पदाधिकारी तथा स्थानीयले स्वागत गर्नुभएको थियो ।

Back to top button