कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई घरमै –घरमै पुगेर ५० हजार दिँदै बेलबारी नगरपालिका

विराटनगर । मोरङको बेलबारी नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको छ ।कार्यक्रम बनाएर नगरपालिकाले मृतकका घरघरमा गएर परिवारलाई सहयोग गरिरहेको छ

‘दुःखमा नगरपालिका कार्यक्रम’मार्फत नगरपालिकाले कोरोनाबाट ज्यान गुमाएका नगरवासीका घरघरमा पुगेर आर्थिक सहयोग गर्न थालेको मेयर ज्ञानेन्द्र सुवेदीले बताउनु भयो । ‘विश्वव्यापी बनेको कोरोना महामारीले नेपाल पनि अछुतो रहन सकेन,’ मेयर सुवेदीले भन्नु भयो, ‘हाम्रो बलबुताले भ्याएसम्म रोकथामको प्रयास गरेका थियौं तर पनि हामीलाई ठूलो क्षति भयो । कोरोनाबाट मृत्यु भएका नगरवासीलाई सहानुभूति दिने उद्देश्यले सहयोग गरेका हौं ।’

कार्यक्रमअन्तर्गत चालू आवदेखि नगरपालिकाले कार्यक्रम ल्याएको हो । आठौं नगर सभाबाट पास गरेर कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाको भनाइ छ । कार्यक्रममार्फत नै नगरपालिकाले नगरवासीको मृत्यु हुँदा नै ५ हजार रुपैयाँ दिने गरेको छ ।नगरवासीको मृत्यु हुँदा कसैलाई नछुटाई बेलबारीका जनप्रतिनिधि घरदैलोमा नै पुगेर ५ हजार रुपैयाँ दिने गरेका छन् ।

कार्यक्रमबाट दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारका लागि राहत मिलेको स्थानीयको भनाइ छ । घरआँगनको सरकारको नाताले दुःखपीडामा परेका सबै नागरिकलाई भेट्ने गरिएको मेयर सुवेदीले बताउनु भयो ।

नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष सहितका जनप्रतिनिधिको टीमले कोरोनाबाट ज्यान गुमाउनेको घरघरमा पुगेर ५० हजार रुपैयाँको चेक हस्तान्तरण गर्ने गरेका छन् । ‘३६ जनालाई सहयोग वितरण गरिसकिएको छ,’ नगर प्रवक्ता योगेन्द्र सुवेदीले भन्नुभयो, ‘आजसम्म हाम्रो नगरपालिकामा ५० जनाको मृत्यु भइसकेको छ ।’

नगरपालिकाले कोरोना संक्रमणमा परेका बिरामीलाई अस्पतालसम्म लैजानका लागि एम्बुलेन्सको समेत व्यवस्था गरेको प्रवक्ता सुवेदीले बताउनु भयो । नगरपालिकाले क्वारेन्टीन तथा आइसोलेसन समेत निर्माण गरेको थियो । गरीब तथा असहायका लागि कार्यक्रम प्रभावकारी भएको नगरवासी बताउँछन् ।

Back to top button