बारको आन्दोलन जारी : धर्नाबाट मार्चपासतिर

काठमाडौं । प्रधानन्याधिशका विरुद्ध आन्दोलरत नेपाल बार एसोसिएसनले अब मार्चपास गर्ने भएको छ । बारले यहि मंसिर ९ गते सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा दिएको धर्ना कार्यक्रममा एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले मार्चपासमा नागरिक समाजका सदस्यहरु समेत संलग्न रहने बताउनुभयो ।

उहाँले प्रधानन्यायाधीश जबरा बालुवाटारका कारण लुकेर न्यायालय आउने गरेको भन्दै सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्न लागिएको बताउनुभयो । अध्यक्ष श्रेष्ठले भोली देशभरका १८ वटा उच्च अदालतमा धर्ना कार्यक्रम आयोजना गर्ने पनि जानकारी दिनुभयो ।

अदालत परिसरभित्र एउटा वकिलले आफ्नो अभिव्यक्ति र विचार राख्न पाउने स्वतन्त्र अधिकार रहेको बताउँदै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले सुरक्षाको नाममा लाठी प्रहार गर्नु न्याय मार्नु सरह भएको बताउनुभयो ।

ज्ञवालीले नेपाल बारलाई बिहीवारबाट कालोपट्टी बाँधेर एक घण्टा नबोली धर्ना दिने कार्यक्रम राख्न आग्रह गर्नुभयो ।

Back to top button