एमाले महाधिवेशनका लागि १५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने

काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा १५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् । एमाले महाधिवेशनमा चितवन र नवलपुरमा गरी १५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो ।

महाधिवेशन उद्घाटनका दिन चितवनतर्फ नेपाल प्रहरीको ८००, सशस्त्र प्रहरीको ४५०, राष्ट्रिय अनुसन्धानको ९० तथा नवलपुरको गैँडाकोट क्षेत्रमा नवलपुरबाट नेपाल प्रहरीको १०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ ।

नारायणी नदी किनारमा हुने उद्घाटन सत्रको कार्यक्रममा चितवन र नवलपुरतर्फबाट सहभागीहरुले कार्यक्रम अवलोकन गर्ने भएकाले दुवै जिल्लाको सुरक्षा व्यवस्था कडा पार्न लागिएको हो ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पङ्गेनीले चितवनसँग समन्वय गरेर नवलपुरको सुरक्षा व्यवस्था मजबुत पार्ने गरी काम भइरहेको बताउनुभयो ।

चितवनमा महाधिवेशन उद्घाटन हुने स्थान र बन्दसत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समिति संयोजक आश्मान तामाङले बताउनुभयो ।

एमालेका पदाधिकारीसँग बसेर सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनबारे छलफल भएको भन्दै तामाङले जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रदेश ट्राफिक प्रहरी कार्यालयबाट विशेष योजना बनाएर काम भइरहेको जानकारी दिनुभयो ।

जिल्लाका विभिन्न १३ स्थानमा सवारीसाधन पार्किङस्थल निर्माण गरिएको भन्दै तामाङले महाधिवेशन उद्घाटनका दिन मङ्सिर १० गते बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालयबाट पश्चिमतर्फ महाधिवेशन उद्घाटन स्थल नारायणगढसम्म अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइने तामाङले बताउनुभयो ।

एमाले महाधिवेशनका लागि प्रहरी नायब महानिरीक्षक (डिआईजी)को नेतृत्वमा नेपाल प्रहरीको टोली परिचालन हुनेछ भने आउने भिआईपी, भिभिआईपी र विदेशी डेलिगेट्सको सुरक्षामा केन्द्रित हुनेगरी सुरक्षा योजना बबनाइएको तामाङले जानकारी दिनुभएको छ ।

मङ्सिर १० गते नारायणी नदी किनारमा महाविधेशन उद्घाटन पश्चात् सोही दिन रातिदेखि नै सुरक्षा व्यवस्थालाई सौराहा केन्द्रित पारिने छ । त्यसैगरी जिल्लाको सुरक्षाअवस्थाबारे जानकारी लिनका लागि राष्ट्रिय अनुसन्धान विभाग चितवनले ९० जना जनशक्ति परिचालन गरेको छ ।

Back to top button