विजय गच्छदारका छोरा शुभाष महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मोरङमा मंगलबार भएको क्षेत्रीय निर्वाचनमा क्षेत्र ५ मा क्षेत्रीय सभापतिलगायतका पदाधिकारी र महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएको छ ।

क्षेत्रीय सभापतिमा जीवछप्रसाद गच्छदार, सचिवद्वयमा बिरेन्द्र साह र मोमहद् फैयाज र सह–सचिवद्वयमा हरीपञ्साद ठाकुर र रोशन आलम र राजेश गुप्तालगायत २४ जना महाधिवेशन प्रतिनिधिसमेत सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ । क्षेत्र ५ का सभापतिलगायत अधिकांश महाधिवेशन प्रतिनिधि देउवा समूहका हुन् ।

यस्तै, क्षेत्र १ मा लेटाङ नगरपालिका प्रमुख शंकर राई क्षेत्रीय सभापतिमा निर्विरोध निर्वाचित भइसक्नु भएको छ । क्षेत्र १ को सचिवद्वयमा भीमप्रसाद पोखरेल र पर्वत राई पनि सर्वसम्मत निपर्वाचित हुनुभएको हो । सह–सचिव र महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन भइरहेको निर्वाचन समितिले जनाएको छ ।
क्षेत्र ६ मा कांग्रेस उपसभापति विजय गच्छदारका छोरा शुभाष गच्छदार थारु कोटामा र मधेसी महिला कोटामा पुनम सिंह महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भइसक्नु भएको छ ।

क्षेत्र १, २, ३, ४ र ६ मा कोइराला र देउवा समूह प्यानल बनाएर निर्वाचन भइरहेको छ । अहिलेसम्ममा क्षेत्र ४ मा मात्रै मतदान सकिएको जिल्ला निर्वाचन अधिकृत केदार कार्कीले बताउनु भयो ।

क्षेत्र २ मा कोइराला समूहबाट नागेश्वरप्रसाद सिंह र देउवा समूहबाट यज्ञ कार्कीले क्षेत्रीय सभापतिमा मनोनयन दर्ता गराउनु भएको छ ।
क्षेत्र ६ मा निर्वाचन केन्द्र विवादले मंगलबार मनोनयन दर्ता भएको छ भने अन्यमा सोमबार नै मनोनयन दर्ता भएको हो ।

क्षेत्र ३ मा कोइराला समूहका गणेश खडका र केशबबहादुर दुलाल र देउवा समूहका राजेन्द्रप्रसाद ढकालले क्षेत्रीय सभापतिमा मनोनयन दर्ता गराउनु भएको थियो । कोइराला समूहबाट दुई जना उम्मेदवार भए पनि प्यानलमा खडका रहेको छ ।

क्षेत्र ४ मा कोइराला समूहबाट बिनोद बस्नेत र देउवा समूहबाट बसन्त हुमागाई र क्षेत्र ६ मा कोइराला समूहबाट देवराज तामाङ र देउवा समूहबाट चेतराज रेग्मीले क्षेत्रीय सभापतिमा मनोनयन दर्ता गराएर चुनावि मैदानमा हुनुहुन्छ ।

Back to top button