एमालेको महाधिवेशन लक्षित २ दर्जन सेल्फी प्वाइन्ट निर्माण गरिदैं

मञ्च निर्माणको काम ५० प्रतिशत सम्पन्न

चितवन । नेकपा (एमाले)को १०औं महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ निर्माणको काम समेत तीव्र पारिएको छ ।

उद्घाटनस्थलमा २५ स्थानमा सेल्फी प्वाइन्ट निर्माणको काम सुरु गरिएको हो । एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार चितवनतर्फ २१ र गैँडाकोटतर्फ चार सेल्फी प्वाइन्ट निर्माण गरिनेछन् । मञ्चको दायाँ भागमा एमालेको झण्डा बोकेको गैँडा निर्माण गरिने छ भने केही मिटरको फरकमा मजदुरले उचाल्दै गरेको पृथ्वी राखिने छ ।

उहाँका अनुसार यी दुई स्थायी संरचना निर्माणका लागि करिब रु पाँच लाख खर्च हुने अनुमान गरिएको छ । महाधिवेशन उद्घाटनस्थललाई थप आकर्षक बनाउनका लागि अन्य २३ ठाउँमा एमालेको प्रचारप्रसार गर्ने खालका तस्वीर राखिने छन् । मदन भण्डारी, भिआई लेनिनका तस्वीर पनि सेल्फी प्वाइन्टमा राख्ने व्यवस्था गरिएको श्रेष्ठले बताउनुभयो ।

ट्रेड युनियन महासङ्घको नेतृत्वमा निर्माण हुन लागेको मजदुरले उचालेको पृथ्वीले संसार बनाउने मजदुरको सम्मान गर्नुपर्छ भन्ने सन्देश दिने उहाँको भनाइ छ । यसका लागि रु चार लाख खर्च हुने अनुमान गरिएको छ ।

यस्तै एमालेको १०औँ महाधिवेशनको लोगो गैँडाले एमालेको झण्डा उठाएको प्रतिमा निर्माणका लागि १ लाख रुपैयाँ खर्च हुनेछ । नदी किनारमा स्थायीरूपमा राखिने यस्ता संरचनाले नदीको तटबन्ध गर्नका लागि राज्यको ध्यान पुग्ने विश्वास गरिएको श्रेष्ठले बताउनुभयो ।

मञ्च निर्माणको काम ५० प्रतिशत सम्पन्न भइसकेको छ । उद्घाटनसत्रमा सहभागी हुने भीड नियन्त्रण गर्न पाँच स्थानमा बकेट (डोरीको छेकबार) निर्माण गरिने छ । दुई ड्रोनले नियमितरूपमा निरीक्षण गरिरहने छ ।

एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ । सो महाअधिवेशन उद्घाटनसत्रमा पाँच लाखको सहभागिता रहने नेकपा एमालेले जनाएको छ । उद्घाटनसत्र नारायणी नदी किनारमा र बन्दसत्र सौराहामा हुनेछ ।

Back to top button