बजेट प्रणाली समस्याग्रस्त अवस्थामा छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बताउनुभएको छ ।

काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघले आज आयोजना गरेको कार्यक्रममा उहाँले राजस्वले चालु खर्च पनि धान्न मुस्किल रहेको भन्दै मुलुकको बजेट प्रणाली समस्याग्रस्त रहेको बताउनुभएको हो ।

उहाँले कोभिड–१९ पछिको आर्थिक पुनरूत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलियत उपलब्ध हुन नसकेको तर सरकारको प्रयास जारी रहेको बताउनुभयो ।

राष्ट्र निर्माण र आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रशंसायोग्य भएको उहाँको भनाइ थियो । नेपालको आर्थिक विकासका लागि स्रोत–साधन पर्याप्त भए पनि उपयोग गर्ने क्षमताको अभाव भएको उहाँले बताउनुभयो ।

Back to top button