पार्टीभित्रै प्रदेश २ का मुख्यमन्त्री राउतको राजिनामाको माग

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ ।

जसपा नेपालका केही कार्यकारिणी समिति सदस्यले आफ्नै पार्टीबाट मुख्यमन्त्री बन्नुभएका राउतको राजीनामा माग गरेका हुन् । पार्टीमा छलफल नै नगरी मन्त्री हटाउने तथा नियुक्त गर्ने काम गरेको भन्दै मुख्यमन्त्री राउतको राजीनामा माग गरिएको हो ।

प्रदेश २ सरकारको मन्त्रीबाट केही साता अघि पदमुक्त गरिएका रामनरेश रायले आफूलाई पार्टीमा छलफल नगरी बिना कारण मन्त्री पदबाट हटाएर आफ्नो अपमान गरिएको गुनासो गर्नुभएको थियो ।

बैठकमा डा.बाबुराम भट्टराई र महेन्द्र यादव पक्षधर केही नेताले समेत मुख्यमन्त्री राउतको राजीनामा माग गरेको पार्टी स्रोतले जनाएको छ । उनीहरुले पार्टी अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाएका छन् ।

बैठकमा नेताहरुले अध्यक्ष यादव पार्टीभित्र एक पक्षीय रुपमा अगाडि बढ्न थालेको भन्दै आलोचना भएको छ । बैठकमा हिसिला यमी, नवराज सुवेदी, रामनरेश राय यादवले पार्टीमा संस्थागत निर्णयबिना अगाडि बढ्ने परिपाटीको विकास हुँदै जाँदा पार्टीकै भविष्य खतरामा पर्ने धारणा राख्नुभएको थियो ।

नेत्रृ यमीले प्रदेश सरकारबाट मन्त्री हटाउने कार्य स्वेच्छाचारिकताको उदाहरण भएको समेत उल्लेख गर्नुभएको छ । बैठकमा मुख्यमन्त्री लालबाबु राउतले भने आफ्नो बचाउ गर्नुभएको थियो ।

बैठकले कार्यकारिणी समितिमा १२ जनालाई थप गर्ने निर्णय समेत गरेको छ । कार्यकारिणी समितिमा ३३ प्रतिशत महिला पुर्‍याउन संख्या थप गर्न लागिएको हो । जसपाको कार्यकारिणी समितिको बैठक आजपनि जारी छ ।

Back to top button