एमाले महाधिवेशन उद्घाटनमा प्रत्येक र्‍यालीमा एउटा एम्बुलेन्स

चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा प्रत्येक र्‍यालीमा एउटा एम्बुलेन्स राखिने भएको छ ।

महाधिवेशन उद्घाटन अगाडि चितवनका विभिन्न ठाउँबाट सुरु हुने र्‍यालीसँग एम्बुलेन्स पनि रहने स्वास्थ्य व्यवस्थापन समिति संयोजक भानुभक्त ढकालले बताउनुभयो ।

नवलपुरको गैँडाकोट, चितवनको केन्द्रीय बस टर्मिनल चोक, विशाल चोक, आँपटारी चोक, बेलचोक, त्रिचोकसहितबाट निस्किने र्‍यालीसँगै एम्बुलेन्स पनि राख्निे भएको हो ।

एमालेको महाधिवेशनका लागि प्रयोग हुने एम्बुलेन्ससँगै नेपाल रेडक्रस सोसाइटीको प्राथमिक उपचारको तालिम लिएका स्वयंसेवकहरु परिचालन हुने स्वास्थ्य व्यवस्थापन समितिले बताएको छ ।

यस्तै प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले महाधिवेशन उद्घाटन हुने स्थानमा भीआईपी र भीभीआईपीलाई लक्षित गर्दै दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने बताउनुभयो ।

उद्घाटन समारोह हुने मञ्चको आडैमा ‘क’ वर्गको एउटा र ‘ख’ वर्गको एउटा गरी दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने पौडेलको भनाइ छ । उद्घाटन सत्र सकिएपछि भने बन्दसत्र हुने स्थान सौराहामा केन्द्रित गरेर एम्बुलेन्सको व्यवस्थापन गरिनेछ ।

बन्दसत्र अवधिभर सौराहामा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली बस्ने ठाउँमा क वर्गको एम्बुलेन्स तयारी अवस्थामा राख्ने पौडेलले बताउनुभयो। यसैगरी थप चार वटा एम्बुलेन्स बन्दसत्र हुने स्थानको नजिकमा रहने छ ।

बन्दसत्रमा बिरामी भएका प्रतिनिधिलाई चितवनका मेडिकल कलेजमा निःशुल्क उपचार गर्नेगरी सहमति गरिएको समितिका सदस्य डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

महाधिवेशनमा सबै रोगका विज्ञ चिकित्सकसहित २५० जना स्वास्थ्यकर्मीको टोली आवश्यक औषधिसहित परिचालन हुने अधिकारीले बताउनुभयो ।

Back to top button