मन्त्रीले छड्के हान्दा कोरिया जान तयार युवाहरु ठगिनबाट जोगिए

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आज गरेको छड्के जाँचका कारण वैदेशिक रोजगारीमा जान लागेका युवाहरु ठगिनबाट जोगिएका छन्।

सबै भा​षा परीक्षा उत्तीर्ण गरी कोरिया जाने क्रममा रहेका युवाहरुलाई एजेन्टले अवैध ढंगले रकम असुल्न खोजेको सूचना पाएपछि मन्त्री श्रेष्ठले तत्काल पहलकदमी लिँदा ठगिनबाट जोगिएका हुन् ।

मोबाइलमा ठगिएको गुनासो आएपछि मन्त्री श्रेष्ठ सुरक्षाकर्मी, श्रम विभागका अधिकारीसहित युवाहरु राखिएको होटल बाल्टिक इन सिनामंगल पुग्नुभएको थियो ।

आजै साँझ कोरिया उड्न लागेका दर्जनौँ युवालाई अनिवार्य सात दिन क्वारेन्टीन बस्नुपर्ने भन्दै संयुक्त संघर्ष समितिको नामबाट एक युवाको सिफारिसमा एयरपोर्टस्थित होटल बाल्टिक इनमा जर्बजस्त राखिएको पाइएको हो ।

पीडित युवाहरुले आफुहरुलाई एजेन्टले विभिन्न बहानामा पैसा असुल्न खोजेको गुनासो मन्त्रीसँग गरेका थिए ।​ पीडितहरुका गुनासो सुनेपछि मन्त्री श्रेष्ठले होटलमा बन्धक बनाउने काममा संलग्नलाई कारवाही गर्न निर्देशन दिनुभएको थियो ।

मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा जाने युवाहरुले भोग्नुपरेको समस्याबारे थप छानविन हुने र भविष्यमा यस्ता दुख भोग्न नपर्ने वातावरण निर्माण गर्ने आश्वासन समेत दिनुभएको छ ।

पीडित युवा शंकर नेपालले होटल सञ्चालकले जर्बजस्ती बढी पैसा असुलेपछि मन्त्रीसम्म सूचना पुर्‍याएको उल्लेख गर्दै सामान्य नागरिकले दिएको सानो सूचनाको आधारमा मन्त्री आफैं आएर समस्या समाधान गरिदिएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

Back to top button