प्रदेश १ बाट एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा १ दर्जन नेता पदाधिकारीको लाइनमा

विराटनगर । आगामी शुक्रवारदेखि सुरु हुने नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा पदाधिकारीका लागि १ दर्जन नेताले आकांक्षा देखाएका छन् ।
प्रदेश १ बाट प्रतिनिधित्व गर्ने सुवास नेम्वाङ वरिष्ठ उपाध्यक्षमा उठ्ने बताइ सक्नु भएको छ ।

पूर्व मन्त्री लालबाबु पण्डितले पनि उपाध्यक्षमा उम्मेदवारी दिने बताउनु भएको छ । अघिल्लो महाधिवेशनमा माधव नेपाल समूहबाट उपाध्यक्षमा प्रतिस्पर्धामा गर्नुभएका पण्डित पराजित हुनु भएको थियो ।

प्रतिनिधि छनोट गर्दा पनि सहमतिमै भएकाले सहमति भए पदाधिकारीको अन्य पद पनि स्विकार्न सकिने उहाँको भनाइ रहेको छ । पदाधिकारीलाई समावेशी बनाउनका लागि पनि आफू उपाध्यक्ष निर्वाचित हुनुपर्ने उहाँको दाबी छ ।

अहिले एमालेको सचिव रहनुभएका योगेश भट्टराई र भीम आचार्यले पनि पदाधिकारीमा दाबी गरी रहनु भएको छ । दुवैको दाबी उपमहासचिवमा भए पनि सहमति भएको खण्डमा सचिवमा चित्त बुझाउने निकटस्थहरू बताउँछन् ।

१० बुँदेमार्फत एमालेमै बस्नु भएका उहाँहरू महाधिवेशनको मुखमा अध्यक्ष केपी शर्मा ओललाई फकाइरहनु भएको छ । प्रचार विभाग प्रमुख समेत रहनु भएका भट्टराईले खुलेर नै ओलीको प्रशंसा गरिरहेको एमालेकै नेताहरू बताउँछन् ।
पार्टीको सचिवका लागि पूर्वका केही नयाँ अनुहार दाबेदार देखिएका छन् ।

पूर्व मुख्यमन्त्री शेरधन राई, अखिलका पूर्व अध्यक्ष हिकमत कार्की, गुरु बराल, राजेन्द्र गौतम, पूर्व मन्त्री भानुभक्त ढकाल, परशुराम मेघी गुरुङले पनि सचिव दाबी गरिरहनु भएको छ ।

राष्ट्रिय सभाको एक समितिका सभापति समेत रहनु भएका गुरुङ माधव नेपालको क्याम्प छाडेर संस्थापन पक्षमै बस्नु भएको छ ।
गुरु बराल ५ औँ महाधिवेशनपछि लगातार केन्द्रीय कमिटीमा रहँदै आउनु भएको छ । एमाले अध्यक्ष ओलीका समकालीन नेताका रूपमा बराललाई लिने गरिन्छ । लम्बेतान भाषण र व्यवहारका कारण नै उहाँ राजनीतिमा पछाडि परेको निकटस्थहरू बताउँछन् । ‘एक दुई जना कार्यकर्ता मात्रै भए पनि दुई घण्टा बढी भाषण गर्ने उहाँको बानी भएकै कारण राजनीतिमा बराल पछि परेको समकालीन नेताहरू बत्ताउँछन् ।

हिकमत कार्की प्रदेश १ प्रदेश सभामा एमालेको उपस्थिति सशक्त बनाउने भूमिकामा देखिनु भएको छ । एमाले बाहेकका अन्य दलसँग पनि राम्रो सम्बन्ध बनाएका कार्कीलाई एमालेभित्रको चाणक्य भनेर समेत अन्य दलले चिन्ने गरेका छन् । भीम आचार्य मुख्यमन्त्री भएपछि विपक्षी गठबन्धनको सांसद चोर्न सबैभन्दा बढी कार्की नै सक्रिय हुनु भएको आरोप समेत लाग्ने गरेको छ । संसद्मा पनि उहाँ नै सक्रिय देखिनु हुन्छ ।

सचिवमा दाबी गर्नु भएका शेरधन राई विगतमा राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिनु हुन्छ । भण्डारीको माइती भोजपुर भएकाले राईले दिदी भनेर सम्बोधन गर्ने गर्नु भएको छ । उहाँलाई राष्ट्रपति भण्डारीको सहानुभूति रहने अनुमान गरिएको छ ।

गत प्रतिनिधि सभा निर्वाचनमा मोरङबाट प्रत्यक्ष निर्वाचित भानुभक्त ढकालले ओली प्रधानमन्त्री भएको समयमा लामो समय मन्त्री हुने अवसर पाउनु भएको थियो । कोरोना महामारीको समयमा भएको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा उहाँ विवादमा तानिनु भएको थियो ।
यस्तै प्रदेश १का अध्यक्ष देव राज घिमिरे पनि सचिवको दौडमा हुनुहुन्छ भने डाक्टर शिव माया तुम्बाहाम्फे पनि पदाधिकारीकै दौडमा हुइँकी रहनु भएको छ ।
केही नेताहरूले पनि पदाधिकारीमा आकांक्षी राखेको भए पनि घोषणा गर्न सकेका छैनन् ।

Back to top button