
विराटनगर । प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)ले नवगठित प्रदेश सरकारले हटाउने निर्णय गरे कानुनी लडाइँ लड्ने बताउनु भएको छ ।
तत्कालीन भीमप्रसाद आचार्य नेतृत्वको सरकारले सामाजिक विकास मन्त्री अध्यक्ष रहने गरी असोज ४ गते बोर्ड गठन गरेको थियो ।बोर्डले हालसम्ममा बैठक सञ्चालन कार्यविधि, प्रदेश १ स्थित १४ वटै जिल्ला खेलकुद विकास समिति गठन गरेको थियो । साथै संघीय सरकारबाट प्राप्त १ करोड ५ लाख बजेट १४ वटै जिल्लास्थित २६ वटा योजनामा बिनियोजन समेत गरेको थियो ।
सदस्य सचिव बस्नेतले बुधबार पत्रकार सम्मेलन गरी हालसम्म गरेका कामकाजका साथै अगामी कार्ययोजना समेत सार्वजनिक गर्नुभएको छ । ‘बोर्डको कार्यालय व्यवस्थापन लगायत सम्पूर्ण काम गरेर खेलाडीहरूका लागि काम गर्ने योजना ल्याएका छौं,’ उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडीहरूलाई आवश्यक कानुन निर्माण गरी मासिक प्रोत्साहन भत्ता लागु गर्ने निर्णय गरेका छौं ।’
५ वर्षभित्र प्रदेशस्तरीय स्पोर्ट्स एकेडेमी सञ्चालनमा ल्याउने, खेल मैदानको स्तरोन्नति गर्ने, विद्यालयदेखि विश्वविद्यालयसम्म खेल प्रशीक्षक नियुक्त गर्ने लगायत योजना रहेको उहाँले पत्रकार सम्मेलनमा बताउनु भएको छ । यसवाहेक बृहत खेलकुद महोत्सव र प्रदेशस्तरीय महिला खेलकुद महोत्सव २०७८ आयोजना गर्ने उहाँको भनाइ रहेको छ ।