प्रधानन्यायाधीश जबरासँग इजलासमा नबस्न न्यायाधीशहरू एकमत

काठमाडौं । गोलाप्रथाबाट पेशी व्यवस्थापन भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा संलग्न इजलासमा सामेल नहुनेमा सर्वोच्च अदालतका न्यायाधीशहरू एकमत भएका छन् ।

आज प्रधानन्यायाधीश जबरा बाहेक सर्वोच्च अदालतमा बसेको १८ जना न्यायाधीशहरुको बैठकले गोलाप्रथा शुरु भएपछि समेत प्रधानन्यायाधीश संलग्न इजलासमा सामेल भएर सुनुवाइ गर्न असम्भव हुनेमा सबै न्यायाधीश एकमत भएका हुन् ।

सर्वोच्च अदालतका एक न्यायाधीशले भन्नुभयो, ‘हामीबाट यति धेरै संगिन आरोपहरु प्रस्तुत गरिएको छ र अहिले तिनलाई हामीले फिर्ता लिएको अवस्था समेत छैन’ ‘आफैंले त्यति गम्भिर आरोप लगाएका व्यक्तिसँग इजलासमा बसेर न्यायसम्पादन गर्न सकिंदैन भन्नेमा हामी एकमत छौं ।’

उहाँले आज नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका सीमित पदाधिकारीहरुसँग १८ जनाले छलफल गर्ने र गोलाप्रथावारे छलफल गर्ने समझदारी बनेको जानकारी दिनुभयो ।

कानून व्यवसायीहरुसँगको छलफलपछि न्यायाधीशहरुले आजका लागि नै पूर्ण बैठक तय गरेका छन् । यसअघिकै शैलीमा प्रधानन्यायाधीश जबरा बाहेकको पूर्ण बैठकले गोलाप्रथाबाट इजलास तोक्ने प्रणाली लागू हुने मिति निर्णय गर्नेछ । त्यसका लागि मंसिर १५ (आगामी बुधबार)को मितिवारे मोटामोटी सहमति बनेको ती न्यायाधीशले बताए ।

प्रधानन्यायाधीशलाई अरु न्यायाधीशहरुले अस्विकार गरेकाले अझै केही महिना संवैधानिक इजलास भने बस्न नसक्ने देखिन्छ ।

Back to top button