म्यानचेस्टर सिटीले पेरिस सेन्ट जर्मेनलाई २–१ गोलले पराजित

काठमाडौं । ईतिहाद स्टेडियममा गएराति सम्पन्न समूह ए को खेलमा घरेलु टोलि सिटीले पीएसजीमाथि २–१ गोल अन्तरको जित निकाल्दै समूह विजेता बनेको हो। जीतसँगै सिटीले च्याम्पियन्स लिगको अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ ।

अर्कोतर्फ हारको बावजुद फ्रेन्च क्लब पीएसजी च्याम्पियन्स् लिगमा समूह उपविजेताको रुपमा नकआउट चरणमा पुग्न सफल भएको हो।

निक्कै रोमाञ्चक बनेको खेलमा सिटीले जित निकालेको खेलमा रहिम स्टर्लिङ्ग र गाब्रियल जिजसले एक एक गोल गर्नुभयो भने पीएसजीका लागि किलियन एम्बाप्पेले एक गोल गर्नुभएको हो।

गोलरहित पहिलो हाफ रहेको खेलको ५०औं मिनटमा मेस्सीको क्रसमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई शुरुवाती अग्रता दिलाउनुभयो ।

खेलको ६३औं मिनटमा जिजसको पासमा स्टर्लिङ्गले गोल गर्दै सिटीलाई खेलमा बराबरी दिलाउनुभयो ।

यसपछि ७६औं मिनटमा बर्नार्डो सिल्भाको पासमा जिजसले गोल गर्दै सिटीलाई महत्वपूर्ण खेलमा जित दिलाउनुभयो ।

५ खेलमा १२ अंक जोडेको सिटीले शिर्ष स्थानलाई कायम राख्यो भने पीएसजी समान खेलमा ८ अंकका साथ दोश्रो स्थानमा रहेको छ ।

तेश्रो स्थानमा रहेको आरबी लाइप्जिग र चौथोमा रहेको क्लब ब्रुग्सको समान ४–४ अंक रहेको छ ।

लाइप्जिग र ब्रुग्सको अन्तिम १६ मा पुग्ने सम्भावना समाप्त भएको छ ।

Back to top button