चितवनमा आजदेखि सुरु भएको एमालेको दसौं राष्ट्रिय महाधिवेशन प्रचन्ड नजाने, देउवा जाने

काठमाडौं । नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरू हुने भएको छ।

मध्यान्ह १२ बजे अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। महाधिवेशन स्थल र चितवनका सडक झन्डा तथा प्रचार सामग्री राखेर सजाइएका छन्।

उद्घाटनअघि तीन ठाउँबाट नेता–कार्यकर्तासहित र्‍याली निकाल्ने तयारी छ। एमालेले महाधिवेशनमा लाखौं नेता–कार्यकर्ता उतार्ने तयारी गरेको छ।

महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्नका लागि एमालेले अरू पार्टीलाई पनि निम्तो दिएको छ।

एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) लाई एमालेले महाधिवेशनमा बोलाएको छैन। त्यसैले एमाले महाधिवेशनमा नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल र सर्वोच्च नेता झलनाथ खनाल देखिनु हुनै छैन् । नेपाल र खनाल दुबैले विगतमा एमाले नेतृत्व गर्नु भएको थियो ।
एमालेले देशभित्र र बाहिरका विभिन्न पार्टीहरूलाई महाधिवेशनका लागि बोलाएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीले भने एमाले महाधिवेशनमा भिडिओ सन्देश पठाउने भएको छ। भारत, बंगलादेश, श्रीलंकालगायत विभिन्न देशबाट भने विभिन्न पार्टीको प्रतिनिधित्व गर्दै नेताहरू आउने कार्यक्रम रहेको एमालेले जनाएको छ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज एमाले महाधिवेशन सम्बोधन गर्न चितवन जाने कार्यक्रम रहेको छ ।

यस्तै नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने एमाले महाधिवेशनमा नजाने बताइसक्नु भएको छ । प्रचण्डको निर्वाचन क्षेत्र चितवन हो। चितवनमा एमालेले महाधिवेशन गरेकोमा प्रचण्ड असन्तुष्ट रहनु भएके छ ।

साथै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेताहरू भने महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्न जाने बताइएको छ ।

महाधिवेशनका लागि एमाले अध्यक्ष ओलीसहित एमालेका सबै नेताहरू चितवन पुगिसक्नु भएको छ । आज महाधिवेशन उद्घाटन गर्ने र शनिबारदेखि सौराहमा बन्द सत्र तथा उम्मेदवारी मनोनयनलगायतका कामहरू हुनेछन्।

Back to top button