एमाले महाधिवेशन : निर्वाचनको सम्भावना टर्दै

सौराहा । नेकपा एमालेको नयाँ नेतृत्वका लागि अन्तिम कसरत भइरहँदा चुनाव हुने सम्भावना भने टर्दै गएको छ । बन्दसत्रले सबै अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई प्रदान गरेसँगै निर्वाचन नगरी नेतृत्व घोषणा गर्ने तयारी भएको हो ।

हिजोको बन्द सत्रले अध्यक्ष ओलीलाई केन्द्रीय समिति र पदाधिकारीका लागि नाम प्रस्ताव गर्ने जिम्मेवारी सुम्पिएको थियो । त्यसअनुसार ओलीले आफू निकटस्थहरुसँग परामर्शमा सूची बनाउने र बन्दसत्रमा पढेर सुनाउने तयारी गरिएको छ ।

अध्यक्षले हलमा नाम घोषणा गरेपछि प्रतिनिधीले ध्वनी मतबाट त्यसलाई सदर गर्ने संस्थापन पक्षका नेताहरु बताउँछन् । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले संसदमा जस्तै हुन्छ र हुन्न भनेर प्रस्ताव लैजाने र हलले ताली पिटेर अनुमोदन गर्ने बताउनुभयो ।

भीम रावलले अध्यक्षमा दावेदारी प्रस्तुत गर्दै आउनुभएको छ । कसैले उम्मेदवारी दिन चाहेमा निर्वाचन प्रक्रियामा जाने पार्टीको निर्वाचन आयोगले बताइरहेको छ ।

तर, पार्टी संस्थापनले भने कसैले उम्मेदावरी दिएमा त्यसलाई पनि ध्वनीमतबाटै टुंग्याउने रणनीति बनाएको बुझिएको छ । यस्तोमा रावलका पक्षमा बहुमत प्रतिनिधि नपुगेको भन्दै ओलीलाई सर्वसम्मत अध्यक्ष घोषणा गर्ने सम्भावना पनि छ ।

यतिबेला सबै नेता तथा कार्यकर्ता ओलीबाट आउने सूचीको पर्खाइमा छन् । अहिलेसम्मको अवस्था हेर्दा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा विष्णु पौडेललाई ओलीले अघि सार्ने देखिएको छ । अन्य पदाधिकारीबारे अझै स्पष्ट खाका आइसकेको छैन ।

पदाधिकारी र केन्द्रीय सदस्य बन्न चाहेका धेरै नेताहरु अझै पनि अलमलमा देखिएका छन् । आफू पार्टीको कुन कमिटी र पदाधिकारीमा परिने हो भन्ने व्यग्रता उनीहरुमा छ । एमालेले १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य र तीन आयोगका पदाधिकारी र सदस्य महाधिवेशनबाट चुन्नुपर्ने छ ।

Back to top button