एमाले महाधिवेशन : केन्द्रीय सदस्यको सूचि तयार , बन्द सत्र साँझ ७ बजेदेखि शुरु हुने

सौराहा । नेकपा एमालेका जारी १० औं महाधिवेशनको दोस्रो दिनको बन्दसत्र साँझ ७ बजेपछि मात्र शुरु हुने भएको छ । बन्दसत्रको पहिलो दिन पदाधिकारी तथा सदस्यहरु टुङ्ग्याउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई नै दिएपछि सूचि तयार गर्नको लागि आज बिहानैदेखि शुरु हुनेभनिएको दोस्रो दिनको बन्दसत्र शुरु हुन सकेको थिएन ।

अध्यक्ष ओलीले ३०१ केन्द्रीय सदस्यको सूची तयार पार्न चार नेतालाई अह्राउनुभएको थियो । अध्यक्ष ओलीले संगठन विभाग प्रमुख विष्णु पौडेलका साथै नेताहरु शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई केन्द्रीय सदस्यहरुको सूची बनाउन दिनुभएको थियो ।

उहाँहरुले तयार पारेको सूचि अध्यक्ष ओलीलाई बुझाउनुभएको हो । स्रोतका अनुसार वर्तमान केन्द्रीय सदस्यहरुलाई निरन्तरता दिइँदै बाँकीमा नामहरु मिलाएर थपिएको छ ।

आफूहरुले पदाधिकारीसहित केन्द्रीय सदस्यको सूची तयार पारेर अध्यक्ष ओलीलाई बुझाएको सचिव गुरुङले बताउनुभयो । अब ओलीले अन्तिम रुप दिने र बन्दसत्रमा प्रस्तुत हुने बताइएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई होटेल पार्क सफारीमा भेटेर फर्किने नेता गोकुल बाँस्कोटाले ७ बजे बन्द सत्र सुरु भएर केही बेरमै सकिने बताउनुभयो । अध्यक्ष ओलीले बोलाएपछि नेता बाँस्कोटा र सचेतक विशाल भट्टराई भेटेर बन्द सत्र स्थल फर्किनुभएको छ ।

Back to top button