आमाको कुटपिटबाट छोराको मृत्यु

विराटनगर । मोरङको कटहरी गाउँपालिका ५ मा आमाको कुटपिटबाट छोराको मृत्यु भएको छ । ५५ वर्षीया आमा बातियो उरावको कुटपिट बाट ३५ वर्षीय राजेन्द्रप्रसाद उरावको आइतबार राती मृत्यु भएको हो ।

राजेन्द्रले शनिबार राती मदिरा सेवन गरेर आएपछि भएको घरायसी विवादका क्रममा आमा बातियोले छोरालाई कुटपिट गरेकि थिइन् । मदिरा सेवन गरेर आएका राजेन्द्रले विवाद गर्न थालेपछि आमाले गालि गलोज गर्दै कुटपिट गरेको मोरङ प्रहरीले जनाएको छ । आमाको कुटपिट बाट घाइते भएका राजेन्द्रको नोवेल अस्पतालमा उपचारको क्रममा आइतबार राती मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताउनु भयो ।

कुटपिटबाट घाइते राजेन्द्रलाई परिवारजनले शनिबार राती नै कोशी अस्पतालमा सामान्य उपचारपछि घर लगेका थिए । घटनाको बारेमा ढिलो गरी जानकारी पाएका प्रहरीले आइतबार पुनः राजेन्द्रलाई उपचारको लागि नोबेल अस्पतालमा भर्ना गराएको तर उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक जिसीले बताउनु भयो ।

आमा बातियोलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान बढाएको प्रहरीले जनाएको छ ।

Back to top button