कमल थापा फेरि पनि राप्रपा अध्यक्षमा उठ्ने

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आज काठमाडौँमा विशेष कार्यक्रम आयोजना गरी थापाले पुनः अध्यक्षमा उठ्ने घोषणा गर्नुभएको हो ।

उहाँले घोषणा कार्यक्रममा राप्रपाका पुराना नेताहरू लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापा, कृष्णचरण श्रेष्ठ, हेमबहादुर मल्ल, चन्द्रबहादुर गुरुङ जस्ता नेताहरुको नाम स्मरण गराउनुभएको थियो । उहाँले अबको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने बताउनुभयो ।

जीवनको अन्तिम समयसम्म पनि एकढिक्का राप्रपाका लागि आफू लागिरहने र गर्नुपर्ने धेरै र अधुरा काम छाडेर आफू पलायन नहुने उहाँले घोषणा गर्नुभयो ।

‘उहाँले भन्नुभयो,एकताको महाधिवेशन हो यो, नाममात्रको होइन, मन, वचन र एकताको महाधिवेशन हुनुपर्छ। एकताको सन्देश दिनुपर्छ। राष्ट्रवादी नेपालीले उत्सुकतापूर्वक हेरिरहेका छन्। महाधिवेशनपछि पार्टी फुट्ने नियतिले गर्दा त्यो टुटफुटको शृंखला नदोहोरियोस् भन्ने छ। कामना गरिरहेका छन् । ‘सम्पूर्ण महाधिवेशन प्रतिनिधिमा फर्केर घर जाँदा राप्रपालाई कहिल्यै फुट्न नदिने संकल्प गर्नुपर्छ।’

राप्रपा अध्यक्षका लागि यसअघि राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिरहनुभएको छ । राप्रपामा पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी पनि अध्यक्षका दाबेदार हुनुहुन्छ ।

Back to top button