मंसिर १९ देखि बाघ गणना गरिने

चितवन । नेपालका राष्ट्रिय निकुञ्जमा यहीँ आउदो मङ्सिर १९ गतेदेखि बाघ गणना गरिने भएको छ।

चितवन राष्ट्रिय निकुञ्जबाट शुरु गरिने बाघ गणनाको नेतृत्व राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गर्नेछ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज तथा आसपासका वन क्षेत्रमा बाघको गणना गरिन लागिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार हिउँदको समयमा बाघ बाटोमा आउने भएकाले गणनाका लागि उपयूक्त समय मानिन्छ ।

वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवसहितका उच्च अधिकारीको उपस्थितिमा गणनाको शुभारम्भ गरिने आचार्यले जानकारी दिनुभयो।

पुस महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्यको साथ शुरु हुन लागेको बाघ गणना क्याप्चर रिक्याप्चड विधिबाट गरिन्छ। दुई–दुई ग्रिड अर्थात चार वर्ग किलोमिटरमा एक जोडी क्यामेरा राखेर गणना गरिन्छ।

चितवन र पर्सालाई एउटा कम्प्लेक्स, बाँके र बर्दियालाई दोस्रो कम्प्लेक्स र शुक्लाफाँटा तथा नजिकैको लालझाडी क्षेत्रलाई तेस्रो कम्प्लेक्स बनाएर बाघको गणना गर्न लागिएको हो।

सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ वयस्क बाघ फेला परेका थिए। त्यतिबेला चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लाफाँटामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए।

सन् २०१० मा रसियाको सेन्ट पिटर्सवग भएको बाघ पाइने १३ मुलुकका राष्ट्र प्रमुखको बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या २५० पुर्‍याउने प्रतिवद्धता व्यक्त गरेको थियो।

तत्कालीन समयमा नेपालका निकुञ्जमा १२१ बाघ रहेको तथ्याङ्क थियो। दोब्बरभन्दा बढी सङ्ख्या बनाउने नेपालको प्रतिवद्धता पूरा हुनेमा संरक्षणविद् विश्वस्त रहेका छन्। नेपालमा हरेक चार–पाँचवर्षको अन्तरमा बाघ गणना गर्ने गरिएको छ ।

Back to top button