कांग्रेस सभापतिका उम्मेदवार ‘शेखर कोइराला’लाई गृह जिल्लामै घेराबन्दी

संस्थापन इतर समूहका नेताहरुको संस्थापन पक्षका उम्मेदवार गच्छदारलाई समर्थन

विराटनगर । कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालालाई गृह जिल्लामा नै घेराबन्दीमा पारेको छ । कोइराला निकटका मोरङ जिल्ला सभापतिका उम्मेदवार डिगबहादुर लिम्बूलाई पराजित गर्न संस्थापन इतर पक्षकै केन्द्रीय नेताहरु एकजुट हुनुभएको छ ।

संस्थापन इतर समूहका बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालगायतले संस्थापन पक्षका उम्मेदवार दिलिप गच्छदारलाई जिताउन मोर्चाबन्दी गर्नुभएको छ । गृह जिल्लामा नै कमजोर पारेर कोइरालालाई सभापतिमा उम्मेदवारी दिनबाट रोक्न यी नेताहरु एकजुट हुनुभएको हो ।

पहिलो चरणमा सम्पन्न मोरङ कांग्रेसको निर्वाचनमा संस्थापन इतर समूहबाट निवर्तमान सभापति डीगबहादुर लिम्बू र पूर्व सचिव यदु बिष्ट र संस्थापन पक्षका दिलिप गच्छदार उम्मेदवार हुनुभएको थियो । जसमा लिम्बूले सर्वाधिक १५ सय ४४, गच्छदारले ११ सय ६६ र बिष्टले ५ सय ६३ मत ल्याउनुभएको थियो । कुनैपनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेकाले भोली मंगलबार पुनः मतदान भइरहेको पूर्व सन्ध्यामा पौडेल, शशांक, सिंह, सिटौलालगायतका नेताहरु निकटका जिल्ला नेताहरुका साथै बिष्टले पत्रकार सम्मेलन गरी गच्छदारलाई समर्थन गर्नुभएको छ ।

विराटनगर महानगरका मेयर भीम पराजुलीले पनि शेखर कोइरालाको साथ छोडेर सिटौलाको क्याम्पमा गई गच्छदारलाई समर्थन गर्नुभएको हो । सिंह निकट राजु मास्केले पनि गच्छदारलाई समर्थन गर्नुभएको छ ।

यसले मोरङको जिल्ला सभापतिको निर्वाचन रोचक बनेको हो । लिम्बू र गच्छदारबीच कडा प्रतिस्पद्र्धा हुने परिस्थितिको निर्माण भएको छ । जसले शेखर कोइरलालाई आफ्नो राजनीति जोगाउन लिम्बूलाई जुनसुकै मूल्यमा जिताउनुको विकल्प छैन । उत्ता, गच्छदारलाई समर्थन गर्ने जिल्लाका नेताहरुलाई पनि आ–आफ्नो राजनीति जोगाउन चुनौति थपिएको छ ।

पराजुलीले जिल्ला सभापतिमा लिम्बू असफल भएकाले गच्छदारलाई रोज्न बाध्य भएको तर केन्द्रीय निर्वाचनमा शेखर कोइरालाको साथ नछोड्ने प्रतिक्रिया दिनुभयो ।

शेखर कोइरला निकट प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले आफूले कोइराला क्याम्प नछाडेको घोषणा गर्नुभयो ।

‘आफूले जिते पनि र हारे पनि कोइराला क्याम्प नछोड्ने घोषणा गरेका सभापतिका उम्मेदवार यदु बिष्टले निर्वाचनको पूर्व सन्ध्यामा अचानक संस्थापन पक्षका उम्मेदवारलाई समर्थन गर्ने घोषणाले अनेकौं प्रश्न उब्जिएको छ,’ कार्कीले भन्नुभयो, ‘प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँ निकट केन्द्रीय सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अमृत अर्याललगायतले बिष्टलगायतलाई संस्थापन पक्षका उम्मेदवारलाई सघाउन पद र पैसाको दुरुपयोग गर्नुभयो ।’

बिष्टलगायतका नेताहरुले मोटो रकम लिएर जिल्ला निर्वाचनका मतदाताहरुको ठेक्का लिएर संस्थापन पक्षका उम्मेदवारलाई जिताउन नसक्ने कार्कीको भनाई थियो । अहिलेका मतदाता सबैले समय र परिस्थितिको मूल्यांकन गर्न समक्ष भएकाले लिम्बूलाई मतदान गरेर जिताउनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । उहाँले शेखर कोइरालाको साथ र सहयोगले मन्त्रीसम्म पाएकोले लिम्बूलाई जिताउन कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

कार्कीले चुनावी माहोलमा शेखरको सहयोगमा पद र प्रतिष्ठा प्राप्त गर्नेहरुले धोखा दिएर आफ्नै खुट्टामा आफैले बञ्चरो हानेको बताउनुभयो । कार्कीले गच्छदारलाई जोसुकैले सहयोग गरे पनि जिल्ला सभापतिमा लिम्बूको जित सुनिश्चित रहेको बताउनुभयो ।

Back to top button