जनतालाई सुखदुखमा साथ दिने मुख्य दल एमाले हुन्छ :  डा. खतिवडा

सौराहा । नेकपा एमालेका नेता डा. युवराज खतिवडाले दशौं महाधिवेशनबाट नेकपा एमाले जनतासँग जोडिएर जनताका सुख–दुःखमा साथ दिने मुख्य राजनीतिक शक्तिका रुपमा अझ क्रियाशील हुने बताउनुभएको छ ।

पार्टीको दशौं महाधिवेशनस्थल चितवनको सौराहामा सञ्चारकर्मीहरुसँगको कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले परिवर्तन भन्दैमा आफूले बनाउन नसक्ने कुरा भत्काउन नहुनेमा जोड दिनुभयो । समाजवादतर्फ जाने भन्दैमा आफूले निर्माण गर्न नसक्ने संरचनालाई भत्काएर अलपत्र पार्न नहुने उहाँको तर्क छ ।

उहाँले पूँजीवादले सिर्जना गरेको जगबाट समाजवादतर्फ अघि बढेका कारण आफ्नो कार्यकालमा केही निजी क्षेत्रका संस्था भत्काउन नसकेको बताउनुभयो । ‘सशस्त्र द्वन्द्वको बेलामा कतिपय त भत्काउनु भयो होला नि, तर बनाउन सकियो त ?’ उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘बनाउन नसकिने कुरा भत्काउनु हुँदैन, त्यसलाई सुधार गरेर अघि बढ्नुपर्छ ।’

Back to top button