तत्काल निर्वाचन समितिलाई पूर्णता दिन निधिको माग

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले केन्द्रीय निर्वाचन समितिमा तत्काल एक जना मनोनित गर्नुपर्ने बताउनुभएको छ ।

यस्तै केन्द्रीय निर्वाचन समितिको संयोजकबाट वरिष्ठ अधिवक्ता महादेव यादवले राजीनामा दिएपछि समिति हाल निर्वाचन समितिमा ४ सदस्यीय छ ।

कांग्रेसको विधानमा निर्वाचन समिति ५ सदस्यीय हुनैपर्ने व्यवस्था रहेको भन्दै निधिले ५ सदस्यीय समिति नभए निर्वाचनको वैधतामाथि प्रश्न उठ्ने बताउनुभएको हो ।

निधिले प्रदेश अधिवेशनअघि नै निर्वाचन समितिलाई पूर्णता दिनुपर्ने बताउनुभएको थियो । ‘बाँकी अधिवेशन र निर्वाचन गराउन चार जनाले मात्र हुँदैन, नकारात्मक सन्देश जान्छ । ५ जनाको निर्वाचन समितिले तलदेखि माथिसम्मको निर्वाचन गरायो भन्दा राम्रो सन्देश जान्छ’ उहाँले भन्नुभयो ।

त्यस्तै उहाँले राजीनामा दिनुभएका यादवलाई राजीनामा फिर्ता गराउन लगाउनुपर्ने वा अर्को मान्छे नियुक्त गर्नुपर्ने बताउनुभयो । निर्वाचन समितिका संयोजक यादवले हतारमा राजीनामा दिएको भन्दै निधिले राजीनामा स्वीकृत पनि हतारमै भएको टिप्पणी गर्नुभयो ।

Back to top button