मोरङ कांग्रेस अधिवेशन शेखरविरुद्ध गरिएको मोर्चाबन्दी विफल, संस्थापन इतरका लिम्बु विजयी

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङमा भइरहेको जिल्ला अधिवेशनमा केन्द्रीय सभापतिका आकांक्षी डा.शेखर कोइरालालाई कमजोर देखाउन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच गरेको चुनावी तालमेलले फेल खाएको छ ।

पहिलो चरणमा नतिजा नआएपछि मंगलवार भएको दोस्रो चरणको निर्वाचनमा देउवा र पौडेल पक्षबीच तालमेल भएको थियो । केन्द्रीय सभापतिका आकांक्षी समेत रहनु भएका र कोइराला पक्षका उमेदवारलाई हराएर शेखरको गृह जिल्लामै कमजोर छन् भन्ने सन्देश दिन खोजिए पनि मंगलवारको मतपरिणामले तालमेललाई फेल पारी दिएको छ ।

पहिलो चरणमा संस्थापन देउवा पक्षका दिलिप गच्छदार, संस्थापनइतर कोइराला पक्षका डिकबहादुर लिम्बु र कृष्णप्रसाद सिटौला पक्षका यदु विष्टबीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणको चुनावमा लिम्बूले सर्वाधिक १ हजार ५४४, गच्छदारले १ हजार १६६ र विष्टले ५६३ मत ल्याउनु भएको थियो। कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेकाले मंगलवार पुनः मतदान भएको थियो ।

मंगलवार भएको मतदानमा कोइराला पक्षका लिम्बुलाई घेराबन्दी गरेपनि मतदाताले भने त्यसलाई विफल बनाइदिएका छन् । मंगलवार मध्यरातमा सकिएको मत परिणाम अनुसार लिम्बुले १ हजार ९ सय ६ मत प्राप्त गर्दा गच्छदारले एक हजार चार सय २५ मत पाउनु भएको थियो।

मंसिर १२ गते भएको मतदानमा तेस्रो मत प्राप्त गरेका विष्टले संस्थापन पक्षका गच्छदारलाई समर्थन गर्नु भएको थियो। । विराटनगर महानगरका मेयर भीम पराजुलीले पनि शेखर कोइरालाको साथ छाडेर सिटौलाको क्याम्पमा गई गच्छदारलाई समर्थन गगर्नु भएको थियो ।

सिंह निकट राजु मास्केले पनि गच्छदारलाई समर्थन गरेका हुन् । सभापतिका आकांक्षी डा.शेखर कोइरालाको गृहजिल्ला मोरङमा उनी समर्थित उम्मेदवार लिम्बूलाई पराजित गर्न देउवा, पौडेल, सिटौला पक्ष सबै एकैठाउँमा आउन गरीएको तालमेल भने फेल खाएको छ ।

Back to top button