मुलुकमा लगानीको वातावरण बनाइनेछ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा लगानीको वातावरण बनाइने बताउनुभएको छ ।

आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आर्थिक पुनरुद्धारको कार्यलाई अघि बढाउन आवश्यक रहेको समेत बताउनुभयो ।

कोभिड– १९ को महामारी नसकिए पनि हामी सामान्य अवस्थातिर आउँदैछौं, उहाँले भन्नुभयो, ‘अब आर्थिक पुनरूत्थानलाई तीव्रताका साथ अघि बढाउन सरकार प्रतिबद्ध छ । मुलुकमा लगानीको वातावरण बनाइने छ ।’

उहाँले मुलुकमा दोस्रो चरणको सुधार आवश्यक रहेको भन्दै प्रजातन्त्रको स्थापनापछि मुलुकमा आर्थिक क्षेत्रमा खुला बजार नीतिको शुरूवात भएको बताउनुभएको छ ।

मुलुकमा केही निजी लगानी वृद्धि भएको भन्दै उहाँले उद्योग, बैंक तथा वित्तीय संस्थाहरू, वायुसेवा कम्पनी जलविद्युुतमा उदाहरणीय काम गरेको बताउनुभयो ।

नेपाललाई अल्पविकसित राष्ट्रबाट विकाससील मुलुकमा स्तरोन्नति गर्ने निर्णय हालै संयुक्त राष्ट्रसंघको महासभाले गरेको भन्दै उहाँले लामो समयदेखि गरिब मुलुक बनेर बस्नुपर्दाको पिडाबाट मुक्ति पाउन स्तरोन्नतिको निर्णय महत्वपूर्ण रहेको बताउनुभयोे ।

Back to top button