
काठमाडौं । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनका लागि बोलाउनुभएको प्रदेशसभा बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको छ ।
एमालेका कोही पनि बैठकमा सांसद सहभागी छैनन् । यसअघि मुख्यमन्त्री शाहीले हिजो विश्वासको मत लिने तय भए पनि कतिपय एमाले सांसद पार्टीको महाधिवेशनको क्रममा चितवनमा रहेको भन्दै आजका लागि सारिएको थियो ।
यद्यपी आज पनि एमाले सांसदहरु प्रदेशसभा बैठकमा सहभागी भएनन् । आज प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले एमाले अनुपस्थित हुनुलाई आफूले सहयोगकै रुपमा बुझेको बताउनुभयो ।
‘उहाँहरुको पनि भरोसा र सद्भावना देखियो, उपस्थिति नहुनु पनि समर्थन हो’ उहाँले भन्नुभयो, ।
यस्तै कांग्रेसको कर्णाली प्रदेशसभा संसदीय दलका सचेतक हिमबहादुर शाहीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यताका कारण विपक्षी दलको उपस्थितिविनै विश्वासको मत लिनुपरेको बताउनुभयो ।
‘प्रमुख प्रतिपक्षीलाई बाहिर राखेर सदन सञ्चालन गर्ने हाम्रो मनसाय होइन । तर हामीसंग संवैधानिक बाध्यता छ, मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । आज ३० दिन पुगेको छ’ उहाँले भन्नुभयो, ।