सर्वोच्चको समस्या समाधानका लागि गठबन्धनमा छलफल हुन्छ : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा सत्ता गठबन्धनको उच्चस्तरीय संयन्त्रका सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानन्यायाधीश हटाउने बारेमा गठबन्धनमा छलफल हुने बताउनुभएको छ ।

प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन दबाब दिँदै आफूलाई भेट्न आएका बार एशोसियसनका पदाधिकारी तथा वरिष्ठ अधिवक्ताहरूलाई आवश्वासन दिँदै उहाँले गठबन्धनको तर्फबाट यथाशीघ्र अदालतको समस्या समाधानको पहल गरिने बताउनुभयो ।

भेटमा प्रचण्डले सत्ता गठबन्धन अदालतको निष्पक्षता र स्वतन्त्रताबारे सधैँ सजग रहेको र समस्या समाधानका लागि सम्बन्धित पक्षलाई अपिल पनि गरेको स्मरण गराएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताउनुभयो ।

अध्यक्ष प्रचण्डले अझै पनि न्यायपालिकामा देखिएको समस्या समाधान नभएकोमा गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । अब के गर्ने भन्नेबारे गठबन्धन र दलहरूबीच छलफल हुने बताउनुभयो ।

Back to top button