सर्वसम्मत गरौं : राणा, चुनाव हार्दैमा पार्टीको सिद्धान्त मर्दैन : थापा, कार्यकारिणी भूमिका फेर्न जरुरी : लिङ्देन

काठमाडौं । राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले कमल थापा र राजेन्द्र लिङ्देनलाई सर्वसम्मत नेतृत्व चयनका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ ।

पार्टीको एकता महाधिवेशनको उद्घाटनसत्रलाई अध्यक्षता गर्नुभएका राणाले अध्यक्ष पदमा दाबी गरेका थापा र लिङदेनलाई सर्वसम्मत रुपमा नेतृत्व चयनमा सघाउन आग्रह गर्नुभएको हो ।

उहाँले पार्टीको हित र कार्यकर्ताको भावनालाई सम्मान गर्दै आफूले अध्यक्ष पदमा दाबी नगरेको भन्दै सर्वसम्मत रुपमा नेतृत्व चयन हुने वातावरण बनाउन आग्रह गर्नुभयो ।

उहाँले आफु उम्मेदवार नभएपनि पार्टीको भविष्य र प्रजातान्त्रिक विकल्पमा स्थापित गर्ने सन्दर्भमा उत्तिकै जोसका साथ लाग्ने बताउनुभयो । अहिलेको अवस्थामा सबै एकतावद्ध भएर पार्टीको विचार अघि बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

यस्तै राप्रपाका अध्यक्ष कमल थापाले एउटा चुनावमा हार्दैमा पार्टीको सिद्धान्त नमर्ने बताउनुभएको छ । उद्घाटनसभालाई सम्बोधन गर्दै थापाले पार्टीको मूल्यांकन गर्नका लागि एउटा चुनावमात्र पर्याप्त नहुने बताउनुभएको हो ।

उहाँले राप्रपालाई केवल दुई चार सिट बढाउने पार्टी बनाउने मात्र नभई, देशको अग्रणी शक्तिका रुपमा स्थापित गराउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो । दुई/अढाइ वर्षको मेहनतपछि केही त्याग, केही असहज व्यवस्था गरेर भए पनि पार्टी एकता भएको भन्दै उहाँले भविष्यमा पार्टी टुक्रिन नदिन आफूसहित तीन जनाले गीता छोएर कसम खाएको बताउनुभयो ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनले महाधिवेशन प्रतिनिधिलाई जीवन रोज्ने कि मृत्यु रोज्ने भन्ने प्रश्न गर्नुभएको छ ।

उहाँले पार्टी एकतापछिको विगत दुई वर्षको कार्यशैली र गतिविधि हेर्दा राप्रपाले केही मन्त्री बनाउने र कुनै दलको पछि लाग्न सक्ने सम्भावना भए पनि राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्र बनाउने हैसियत हासिल गर्न नसक्ने दाबी गर्नुभयो ।

उद्घाटनसत्रलाई सम्बोधन गर्दै उहाँले यतिबेला पार्टी इतिहासकै सबैभन्दा महत्वपूर्ण क्षणमा उभिएको बताउनुभयो । कुनै समय सवैको ध्यान खिच्न सफल पार्टी अहिले देशको राष्ट्रिय मान्यता प्राप्त पार्टी समेत बन्न नसक्नु दुःखद भएको बताउनुभयो । उहाँले एक पटक पार्टीको कार्यकारिणी भूमिका फेर्नुपर्ने जरुरी भएको भन्दै पार्टीका अग्रजहरुलाई परिवर्तनको पक्षमा उभिन आग्रह गर्नुभयो ।

Back to top button