कांग्रेसको प्रदेश १ सभापतिका चार आकांक्षी

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को पहिलो सभापति बन्नका लागि चार जना आकांक्षी देखिएका छन् । संस्थापन र संस्थापन इतर पक्षबाट समान २/२ जना आकांक्षी देखिएका हुन् ।

कांग्रेस प्रदेश १ को पहिलो सभापति बन्न संस्थापन इतर पक्षबाट कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइराला निकट केन्द्रीय सदस्य गुरुराज घिमिरे प्रदेशमा नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । अर्का कांग्रेसका प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले पनि प्रेदश सभापतिका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।

संस्थापन इतर पक्षको बलियो पकड रहेको यस प्रदेशमा संस्थापन पक्षले कृष्णप्रसाद सिटौलासँग मिलेर सिटौला पक्षलाई प्रदेश सभापति दिने सहमति गरेका छन् । सिटौला पक्षबाट संखुवासभाका पूर्वसभापति तारामान गुरुङ र झापा कांग्रेसका पूर्वसभापति उद्धव थापाले प्रदेश सभापतिका लागि आकांक्षी देखिएका छन् ।

सभापतिका उम्मेदवार शेखर कोइरालासँगै देश दौडहामा रहेका गुरुराज घिमिरे प्रदेश क्षेत्रीय अधिवेशनदेखि जिल्लामा खटिरहनु भएको छ । विद्यार्थी राजनीतिबाट आएका घिमिरेले प्रदेश सभापतिका लागि तयारी गरिरहेको बताउनुभयो । कांग्रेसका भातृ संगठन नेवि संघको केन्द्रीय नेतृत्वपछि पछिल्लो समय लगातार दुई कार्यकाल पार्टीका केन्द्रीय सदस्य रहेका युवा नेता घिमिरेको प्रदेशस्थित १४ वटै जिल्लामा पहिचान कायम रहेकोले उम्मेदवार बन्ने सभावना बलियो छ ।

संस्थापन इतर समूहकै अर्का उम्मेदवार राजिव कोइराला पनि बलिया उम्मेदवार हुन् । सुनसरीमा कांग्रेसको लगातार दुई कार्यकाल नेतृत्व प्रदान गर्नुका साथै प्रदेश १ को संसदीय दलको नेता हुँदाहुँदै पनि पार्टी सभापति देउवाले मुख्यमन्त्री बन्न नदिएकाले कांग्रेसीहरुको सहानुभूति देखिन्छ ।

उहाँले आफूले प्रदेशको नेतृत्व गर्ने अवसर पाएको अवस्थामा गुट, उपगुट समाप्त पारेर, पार्टीलाई विधिसम्मत ढंगले संघीयताको मर्म अनुसार मुलुककै लागि नमूना प्रस्तुत गर्ने दावी गर्नुभएको छ ।

घिमिरेले केन्द्रमा सभापति बन्न नपाउने र महामन्त्रीमा अन्य साथीहरु दाबेदार भएकाले आफ्नो कार्य योजना कार्यान्वयन गर्न नपाउने हुँदा प्रतिक्रियात्मक हुने भएकोले प्रदेशको नेतृत्व गरेर उदाहरण प्रस्तुत गर्ने उद्देश्यका साथ उम्मेदवारी घोषणा गरेको बताउनुभयो । उहाँले पार्टीभित्र नयाँ युगको सुरुवात प्रदेशबाटै गरेर मुलुकका लागि उदाहरण प्रस्तुत गर्ने सुनाउनुभयो ।

संस्थापन पक्षबाट प्रदेश सभापतिका आकांक्षी थापाले यसअघि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका थिए तर पछिल्लो समय प्रदेशसभापतिका लागि इच्छा देखाउन थालेका हुन् ।

संस्थापन पक्षका अर्का उम्मेदवार गुरुङले यसअघि आफूलाई नै सबै साथीहरुले प्रदेश सभापतिका लागि सहमति दिए पनि पछिल्लो समय मोरङ, सुनसरी र झापामा बढी मतदाता भएकाले छलफल भइरहेको बताउनुभयो ।

उहाँले बिहीबार विराटनगरमा छलफल भएर संस्थापन पक्षबाट एक जनाको मात्रै उम्मेदवारी घोषणा हुने बताए । संस्थापन इतर पक्षले पनि बिहीबार प्रदेश सभापतिको उम्मेदवारको नाम घोषणा गर्ने बताउनुभयो ।

प्रदेश १ स्थित १४ वटा जिल्लामध्ये ७ वटा सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, इलाम, पाँचथर र धनकुटामा संस्थापन पक्ष, मोरङ, सुनसरी, खोटाङ, भोजपुर, तेह्रथुम र संखुवासभामा संस्थापन इतर समूह र झापामा सिटौला पक्षले जिल्ला सभापतिमा विजय हासिल गरेका छन् । जिल्ला सभापतिमा ७ वटा जिल्लामा संस्थापन पक्षले विजय हासिल गरे पनि प्रदेश महाधिवेशनका लागि मोरङ र सुनसरीबाट संस्थापन इतर समूहको प्रतिनिधि बढी रहेकोले बलियो देखिएको छ ।

कांग्रेस प्रदेश १ को प्रथम अधिवेशन विराटनगरमा मंसिर १६ गतेदेखि हुने आयोजक समितिले निर्णय गरी घोषणा गरेको छ । अधिवेशनको उद्घाटन सत्र विराटनगरको शंकरपुरस्थित खाली मैदानमा र बन्द सत्र जहदा रोडस्थित सिद्धि पार्टी प्यालेसमा हुने निर्णय गरेको हो ।

प्रदेश महाधिवेशन आयोजक समितिका प्रचार प्रसार समितिका संयोजक राजिव कोइरालाले महाधिवेशनको तयारी पूरा भएको बताउनुभयो । पार्टीका केन्द्रीय सदस्य तथा आयोजक समितिका संयोजक कृष्णप्रसाद सिटौलाले प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्य तालिका सार्वजनिक गरिएको छ । विराटनगरको शंकरपुरमा हुने उद्घाटन सत्रमा १ हजार ७ सय प्रतिनिधिसहित दुई हजार बढीको सहभागिता रहने आयोजक समितिले जनाएको छ ।

Back to top button