कांग्रेस अधिवेशनमा मोरङका दुई मेयर पराजित

विराटनगर । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सम्पन्न मोरङ जिल्ला अधिवेशनमा दुई जना मेयर पराजित हुनुभएको छ । जिल्ला सचिवका उम्मेदवार सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल र रतुवामाई नगरपालिकाका मेयर रविन राई पराजित हुनु भएको हो ।

सचिवमा संस्थापन पक्षबाट उठेका सुन्दरहरैंचाका मेयर ढकालले १ हजार ८४ र रतुवामाईका मेयर राईले ४ सय ५५ मत प्राप्त गर्नुभयो । जिल्ला सचिवमा संस्थापन इतर पक्षबाट मोदराज घिमिरे र ललितबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । घिमिरेले १ हजार २ सय ३५ र श्रेष्ठले १ हजार ५ सय ६९ मत प्राप्त गरेर विजय हुनुभएको छ ।

जिल्लाको उपसभापतिमा संस्थापन इतरपक्षका नागेश कोइराला र भक्तिनाथ माझी निर्वाचित हुनुभएको छ । कोइरालाले १ हजार ९ सय ४० र माझीले १ हजार ३ सय ४३ मत प्राप्त गरी विजय हुनुभयो ।

संस्थापन पक्षका उपसभापतिका उम्मेद्वार गोपालबहादुर थापाले १ हजार १ सय ९५, राजु मास्केले ५ सय ३९ र सुबोधकुमार सिंहले ८ सय ६५ मत प्राप्त गरेर पराजित हुनुभएको छ । सहसचिवमा संस्थापन इतर पक्षका भुवनेश्वर मण्डल र सञ्जयकुमार मण्डल निर्वाचित हुनुभएको हो ।

जिल्ला सभापतिमा संस्थाप इतर पक्षका डिग बहादुर लिम्बू विजय हुनु भएको छ । दोस्रो चरणको चुनावमा लिम्बूले संस्थापन पक्षका दिलिप गच्छदारलाई पराजित गरेका हुन् । लिम्बूको १ हजार ९ सय ६ र गच्छदारले १ हजार ४ सय २५ मत प्राप्त गर्नुभएको थियो ।

Back to top button