१२ वर्षपछि दोङ हत्याका अभियुक्त पक्राउ

काभ्रे । जिल्लाको तेमाल गाउँपालिका–९ स्थित मच्छेपौवाका तीर्थमान दोङको हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन्। घटनाको १२ वर्षपछि दोङ हत्याका फरार मुख्य अभियुक्त ४७ वर्षीय ज्वाला भनिने पदमवीर लामा तामाङ लाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तै मुख्य अभियुक्त लामालाई रामेछापको सुनापति गाउँपालिका–५ खनियापानीमा लुकेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। १२ वर्षअघि रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा दोङको हत्या भएको थियो।

दोङका आफन्त पृथीमान दोङले हत्यामा ज्ञानबहादुर तामाङ र उनका छोरा जयराम तामाङ सहितको समूहको संलग्नता रहेको भन्दै प्रहरीमा किटानी जाहेरी गर्नुभएको थियो । त्यही जाहेरीको आधारमा खोजी गरिहेको प्रहरीले ज्ञानबहादुरलाई रामेछाप र जयरामलाई काभ्रेको धुलिखेलबाट पक्राउ गरेको थियो।

गत शनिबार प्रहरीले बाबुछोरालाई पक्राउ गरेसँगै उनीहरूले दिएको सूचना तथा वयानको आधारमा घटनाका मुख्य अभियुक्त लामालाई पनि पक्राउ गरेको हो। मुख्य अभियुक्त लामालाई जिल्ला अदालत रामेछापबाट ४ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Back to top button