एडभान्स सिलाई कटाई तालिम सुरु

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाका लघु उद्यमी वन्न चाहने विपन्न महिलाहरुका लागि स्तरोन्नतीतर्फ सिलाई कटाई एडभान्स तालिम सुरु भएको छ ।

१ महिने सो तालिमको उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले यसखाले तालिम लिएपछि महिलासहितका आर्थिक विपन्नहरु व्यवसायी बन्नुपर्नेमा जोड दिँदै व्यवसायिक वन्न इच्छुकका लागि नगरले सधैं सहयोग पुर्‍याउने वताउनुभयो ।

कार्यक्रममा, नगरको घरेलु तथा साना उद्योग विकास शाखा प्रमुख हेमचन्द्र दहालले कार्यक्रमका बारेमा बोल्दै आर्थिक विपन्न समुदाय स्वनिर्भर वन्ने कार्यक्रममा सक्रिय सहभागि हुन आग्रह गर्नुभयो ।

अघिल्लो वर्ष आधारभूत र इडभान्स तालिम तथा कपडा सिलाउने मेसिन समेत प्राप्त गरेका वडा नम्बर १, २ र ३ का ३१ जनाका लागि व्यवसायी वन्न थप टेवा पुर्‍याउन स्तरोन्नतीका लागि एडभान्स तालिम दिइएको जानकारी गराइयो ।

तालिममा सहभागिले यस अघिको तालिमले आफुहरुलाई उर्जा मिलेकोले अव संयुक्त तबरले गार्मेन्ट उद्योग नै खोल्ने इच्छा व्यक्त गरेका छन् ।

महिलाहरुका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत कार्यक्रम सञ्चालन स्वीकृत निर्देशिका २०७७ को दफा २१ को उपदफा ३ बमोजिम लघु उद्यमी सृजनाका लागि तालिम अघि बढाइएको हो ।

अघिल्लो वर्ष वडा नम्बर १, २ र ३ मा कार्यक्रम सञ्चालन भएको र यो वर्ष वडा नम्बर ४, ८ र ९ मा समेत कार्यक्रम थप भएको छ ।

Back to top button