राप्रपाको महाधिवेशनमा पनि किचलो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन एक दिन लम्बिने भएको छ । महाधिवेशन प्रतिनिधिको विवादका कारण निर्वाचन समितिले तोकिएको मितिमा चुनाव गराउन नसक्दा महाधिवेशन एक दिन पर सर्ने भएको हो ।

उम्मेदवारको अन्तिम सूची प्रकाशित लगायतका आवश्यक तयारी गरेर शनिबारमात्रै मतदान कार्यक्रम हुनेनिर्णय हुने बुझिएको छ ।

निर्वाचन समितिले बिहीबार राति ४४७१ जना महाधिवेशन प्रतिनिधिको सूची सार्वजनिक गरेको छ । त्यसमा थप ५ प्रतिशत प्रतिनिधि मनोनयन अध्यक्षत्रयले गर्न बाँकी नै रहेको निर्वाचन समितिले जनाएको छ ।

राजेन्द्र लिङ्देन पक्षले प्रतिनिधिमा चलखेल भएको आरोप लगाएपछि दुई दिनसम्म मिहिन ढंगले छानबिन गरेर मतदाताको सूची सार्वजनिक गरिएको हो। ती सूचीमा आज दावी विरोध गर्ने समय दिइएको र त्यसपछि अन्तिम सूची प्रकाशित गरिने समितिको भनाइ छ ।

राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । यसअघि राप्रपाको महाधिवेशन बुधबारदेखि राजधानीमा सुरु भएको थियो भने नयाँ नेतृत्व चयन गर्दै शुक्रबार सम्पन्न गर्ने कार्यतालिका थियो ।

Back to top button