एम्समा मिस्टर एण्ड मिस फ्रेसर प्रतियोगिता हुँदै, उत्कृष्टलाई छात्रवृत्ति

विराटनगर । विराटनगर – ९ स्थित एम्स कलेजले हरेक वर्ष गर्दै आएको ‘अ हण्ट फर मिस्टर एण्ड मिस फ्रेसर’ प्रतियोगिता आजदेखि शुरु हुँदैछ ।

बि.बि.एस, बि.एच.एम र बिएस्सी सिएसआईटी संकायका नव आगन्तुक विद्यार्थीहरुको प्रतिभाको खोजी गर्न प्रतियोगिताको आयोजना गरिएको हो ।

विद्यार्थीमा अन्तर्निहित क्षमताको प्रस्फुटन गराउने र उनिहरुलाई नेतृत्वको विकास गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्याम्पस प्रमुख सिएम बस्नेतले बताउनुभयो । कलेजमा स्थापित विद्यार्थी क्लबले आयोजना गर्ने प्रतियोगिताबाट धेरै कुरा सिक्ने क्याम्पस प्रमुख बस्नेतले विश्वास ब्यक्त गर्नुभयो ।

यस पटकको ‘अ हण्ट फर मिस्टर एण्ड मिस फ्रेसर २०२१’ को आयोजना कलेजको ट्युलिप हाउसले गर्दैछ । हाउसका अध्यक्ष सोनु रौनियारले कलेजले दिएको यस्तो परियोजना विद्यार्थीका लागि ठूलो अवसर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस्ले धेरै कुरा सिक्न सहयोग हुन्छ ।’

प्रतियोगितामा नव आगन्तुक विद्यार्थीहरु मध्येबाट ईच्छुक १ सय २ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । आज दिउँसो १ बजेदेखि शुरु हुने अडिसनमा शिक्षिका अन्जु भुजेल र संयोजक सुरेन्द्र मण्डल निर्णायक रहनुहुनेछ ।

प्रतियोगितामा मेरो परिचय, इम्प्रोम्टु राउण्ड, ब्रिटिस पार्लियामेन्ट मोडलमा वादविवाद , ट्यालेण्ट राउण्ड, लोजिकल राउण्डलगायतका अडिसनहरु हुनेछन् । विभिन्न सेग्मेन्टबाट विजयी १० छात्रा र १० छात्र फाइनलमा पुग्नेछन् ।

विजेता फ्रेसरलाई छात्रवृत्ति स्वरुप नगद र विभिन्न उपहार प्रदान गरिने क्याम्पस प्रमुख सिएम बस्नेतले जानकारी दिनुभयो । प्रतियोगिताको यो छैटौं सिजन हो ।

कार्यक्रममा बोल्दै बिबिएस तेस्रो बर्षमा अध्ययनरत २०१९ का मिस्टर फ्रेसर प्रवेश अधिकारीले कलेजले आफूलाई अघि बढ्न धेरै ठूलो मौका दिएको र यस्तो अवसर कसैले गुमाउन नहुने बताउनुभयो ।

उहाँले एम्स कलेजको वातावरणले धेरै कुरामा परिवर्तन आएको अनुभूति भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘यहाँको वातावरण यस्तो छ कि एम्सले पाठ्यपुस्तक मात्र होइन, जीवन पढाउँछ ।’

Back to top button