राजनीतिक गतिरोधको अन्त्य गर्न ताजा जनादेशमा जानुपर्छ : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न ताजा जनादेशमा जानुपर्ने बताउनुभएको छ ।

हालै चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित हुनुभएका ओलीले आज पार्टी कार्यालयमा पुगेर पदबहाली गर्दै देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न ताजा जनादेशमा जानुको विकल्प नरहेको बताउनुभयो ।

त्यस्तै अदालतमा देखिएको अवस्था पाँच दलीय गठबन्धनको विसंगतिको प्रतिबिम्ब रहेको भन्दै उहाँले गलत फैसला गराएर अदालतको हुर्मत लिने काम गठबन्धनले गरेको आरोप समेत लगाउनुभएको छ ।

सरकारले देशको समय बर्बाद बनाइरहेको भन्दै अध्यक्ष ओलीले मंसिर २८ मा बोलाएको संसद् बैठक चल्न नसक्ने चेतावनी दिनुभयो । ‘सभामुखले एमालेले निष्कासन गरेका नेतालाई संरक्षण गर्ने, एमाले फुटाउन लाग्ने, यस्ता कार्यले सभामुख निष्पक्ष हुन सकेनन्’, उहाँले भन्नुभयो, न्यायालय र संसदमा देखिएका समस्या समाधान गर्न सरकार लाग्नुपर्ने हो ।

तर, विपरीत दिशामा अघि बढेको छ ।’ यस्ता गतिविधिले देश चल्न नसक्ने भन्दै अध्यक्ष ओलीले अब ताजा जनादेशमा गएर देशलाई निकास दिनुपर्ने बताउनुभयो । वर्तमान सरकारको छिटोभन्दा छिटो अन्त्य गर्नुपर्ने भन्दै उहाँले जनताले मूल्याङ्कन गरेर फैसला गर्ने बताउनुभयो ।

Back to top button